धरान : प्रदेश १ मा आज ६६ सहित देशैभर ३ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा थपिएकाहरूमा मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ५५ पुगेको छ ।

प्रदेश १ मा आज १८ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६, मोरङ, सुनसरी र पाँचथरका १÷१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ९ सय ५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

इलाममा १६ सशस्त्र प्रहरी संक्रमित
सशस्त्र प्रहरी बलको नं. १ गण इलाममा कार्यरत थप १६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेनटिन व्यवस्थापनमा खटिएका प्रहरीहरू रहेको बताइएको छ । योसँगै इलाममा सशस्त्र प्रहरीका ४७ जना संक्रमित भइसकेका छन् ।

देशैभर ३ सय ६० कोरोना संक्रमित थपिए
यसै गरी देशभरका विभिन्न जिल्लामा आज थप ३ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ६० जना संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।