धरान : धरानमा कोरोना समुदाय स्तरमै फैलिसकेको चिकित्सकहरू बताउँछन् ।

धरान ८ को प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्री प्रा.ली. मा कार्यरत धरान १३ का युवामा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि गरिएको कनट्र्याक्ट ट्रेसिङको क्रममा अहिले सम्म धरानमा क्वारेनटाइनमा बस्ने बाहेक समुदायका १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । यसले गर्दा पनि धरानमा समुदाय स्तरमै कोरोना सङ्क्रमण फैलिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विजय खनाल बताउँछन् । 

धरान ८ मा रहेको प्रीति भल्भका अडिटर जनकपुर, विराटनगर आउजाउ गरेको र त्यहाँ कार्यरत कर्मचारीहरू पनि जनकपुर र विराटनगर आउजाउ गर्ने गरेकोले धरानमा कोरोना भित्रिएको बताइन्छ । त्यही उद्योगमा काम गर्ने युवामा कोरोना पुष्टि भएपछि पनि सो उद्योगमा सिल गर्न ढिलाइ गरिएकोले पनि धरानमा कोरोना सङ्क्रमण फैलिएको हो ।

त्यही उद्योगमा काम गर्ने कर्मचारीको परिवारमा पछिल्लो पटक कोरोना सङ्क्रमण भएपछि मात्रै सो उद्योग सिल गरिएको थियो । त्यही उद्योगमा काम गर्नेकै सम्पर्कमा रहेका धरान ३ का एकै परिवारका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसले पनि के प्रस्ट हुन्छ भने कोरोना सङ्क्रमणको हटस्पट प्रीति भल्भनै हो धरानको लागि । धरानमा कोरोना संक्रमित समुदायमा पनि देखिन थाले पछि धरान उपमहानगरपालिकाले पनि लकडाउन घोषणा गरेको छ । लकडाउन घोषणा अलिक ढिलो भएकोले पनि समुदायमा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिएको पनि भन्ने गरिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संयोजकत्वमा रेनडोम मास टेस्टिङ समिति गठन गरेर गएको मङ्गलवार देखि समुदाय स्तरमा कोरोना सङ्क्रमण छ की छैन भनेर मास टेस्टिङ धमाधम भइरहेको छ । हिजो सम्म यो समितिले समुदायमा ६ सय ६० जनाको स्वाबको नमुना लिएको मध्ये १ सय १६ जनाको रिपोर्ट आइसकेकोमा यी मध्येबाट २ जनामा कोरोना देखिनु समुदायमा कोरोना सङ्क्रमण भइसकेको हो धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले भने ।

बिहीबार धरान-९ मा डेरा गरी बस्ने भारतीय तरकारी व्यापारी र आज बिहान धरान उपमहानगरपालिकामा कार्यरत एक जना कर्मचारीको १० वर्षीय छोरामा कोरोना पुष्टि भएको छ । यसले गर्दा पनि धरानमा समुदायमै कोरोना फैलिसकेको प्रस्ट भएको छ । दिन रात खटेर भए पनि धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलीले धरानमा समुदाय स्तरमा तीव्र गतिमा समुदायमा पुगेर स्वाब सङ्कलन गरिरहेको छ । यो सबै नमुनाको रिपोर्टले कस्तो अवस्था देखाउने हो रिपोर्ट कुर्नु नै पर्ने भएको छ ।

लकडाउनको उल्लङ्घन
धरानमा समुदायस्तरमै कोरोना सङ्क्रमण भएको भन्दै धरान उपमहानगरपालिकाले लकडाउन घोषणा गरेको छ । तर पनि सर्वसाधारण लकडाउनको उल्लङ्घन गर्दै घर बाहिर हिडीरहेको देखिन्छन् ।

Lokdaun-2-Ateri कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीयले आफै बाँसको ढाट लगाएर बाटो अवरुद्ध गरे पनि त्यही बाटो भएर हिडनेहरु पनि कम छैनन् । धरानको मुख्य सडकहरूमा प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको भए पनि सुरक्षाकर्मीलाईनै नटेरी बाहान बनाएर आउजाउ गर्नेहरू पनि थुप्रै भेटिन्छन् ।

समुदायस्तरमा कोरोना भाइरस फैलिएको भनिरहँदा सर्वसाधारणको अटेरीपनले झन् जोखिम फैलाएको स्वास्थ्य विज्ञहरूको भनाई छ ।