झापा : झापाको शिवसताक्षी नगरपालिकाका स्थानीय २९ वर्षीय गोमनसिंह मगरको हत्याराको खोजीमा ल्याइएको तालिम प्राप्त कुकुरले हत्यामा संलग्नको तत्काल पत्ता लगाउन सकेन ।

घटनास्थलमा पुगेको तालिमप्राप्त कुकुर केही बेरपछि झिलझिले चोकतिर आएको थियो । यसले हत्यारा राजमार्ग तिर भागेको सङ्केत गरेको अनुसन्धानमा खटिएका प्रहरीले बताए । शिवसताक्षी-११ निवासी मगरको शव आज बिहान १० झिलझिले स्थित राजमार्गबाट एक किलोमिटर उत्तर धाम जाने बाटोको किनारमा भेटिएको थियो ।

घटना स्थलमा धरानबाट ल्याइएको प्रहरीको तालिमप्राप्त कुकुर (लैला)ले धामको बाटो हुँदै राजमार्गसम्म पुगेर हत्यारा भागेको सङ्केत गरेको अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन् । प्रहरी स्रोतका अनुसार घटना स्थल सुँघेर लैला राजमार्गसम्म आएको र त्यसपछि अलमलिएको थियो । हत्यारा भागेको बाटो पत्ता लगाउने क्रममा लैला दुई पटक राजमार्गसम्म आएको थियो ।

घटनास्थल नजिकै फेला एउटा मोटरसाइकल समेत फेला परेको थियो । उक्त मोटरसाइकल विगत एक महिनादेखि मगरले नै प्रयोग गर्दै आएका थिए ।

सोही मोटरसाइकल चढेर वा चढाइएर मगरलाई जङ्गलमा पुर्‍याइएको र त्यही उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।