धरान : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरूसँग छलफल गरेका छन् ।

असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरूसँग मुख्यमन्त्री राईले आज भर्चुअल छलफल गरेका हुन् । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरूसँग छलफल गरेका हुन् । छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि यातायात व्यवसायीहरूलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरूको विवरण तयार गर्न आग्रह गरेका छन् । उनले यातायात व्यवसायीहरूको साझा समस्याहरूलाई सरकारले सम्बोधन गर्दै जाने बताए ।

मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरुलाई आग्रह गरेका छन् । मुख्यमन्त्री राईले मास्क स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरू अपनाउन आग्रह गरेका छन् । यात्रुहरूको विशेष ध्यान दिन पनि मुख्यमन्त्री राईले व्यवसायीहरूलाई आग्रह गरेका छन् । यात्रुहरूलाई स्वास्थ्य सावधानी तथा सजगता अपनाउन यातायात व्यवसायीहरूले पनि ध्यान दिनु पर्ने कुरामा मुख्यमन्त्री राईले जोड दिए ।

लामो दुरीका यात्रुहरूको विवरण राख्न समेत मुख्यमन्त्री राईले जोड दिएका छन् । छलफलमा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका छिन् । उनीहरूले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधनहरू सञ्चालन गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीहरूका साथै यातायात क्षेत्रका मजदुर सङ्गठनका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।