विराटनगर : प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको छ ।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरूका लागि आधारभूत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्बन्धी शिक्षकहरूमा क्षमता विकास तालिम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्थानीय तहहरूसँगको साझेदारीमा पहिलो चरणमा ६ वटा स्थानीय तहमा यसै साता भित्र तालिम सञ्चालन गर्ने योजना बनाएको छ । तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरूसँग सम्झौता गरिरहेको छ ।

बुधवार सामाजिक विकास मन्त्रालय र झापाको अर्जुनधारा नगर पालिकाबिच सम्झौता भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे र अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना मगरले सम्झौता आदान प्रदान गरेका छन् । सम्झौता कार्यक्रममा मन्त्री घिमिरेले समय बद्लिएकाले शिक्षण सिकाई कक्षाकोठामा मात्र सीमित नराखी सूचना प्रविधिको उपयोग गरी शिक्षा दिन आवश्यक रहेकोमा जोड दिए ।


मन्त्रालयले यसअघि इलामको सूर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ । बिहीबार उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता हुने बताइएको छ ।