झापा : झापाको दमकस्थित दुई अस्पताललाई ४५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
टिएडयु ची फाउन्डेसनले नेपाल सरकारसँगको समन्वयमा दमक अस्पताल र आम्दा अस्पतालका लागि कोभिड १९ सङ्क्रमित बिरामीको उपचारका लागि सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती सामग्री हस्तान्तरण गरेका थिए । दुवै अस्पताललाई २४०० थान डिस्पोजेबल मास्क, २७० थान फेस मास्क,२८८ थान पिपिई, १००० थान पन्जा, इन्फ्रारेड थर्मामिटर र भेन्टिलेटर इक्युपमेन्ट हस्तान्तरण गरेको हो ।

दमक अस्पतालकी एनेस्थेसिया असिस्टेन्ट देवी दंगालका अनुसार यी सामग्री कोभिड-१९ बाट जोगिनका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने छन् ।

सरकारी १५ बेडको जिल्ला अस्पतालको मान्यता पाएको दमक अस्पतालमा अहिले विशेषज्ञ सेवाहरू सुरु भएका छन् । दैनिक ४ सय बिरामीले अहिले पनि स्वास्थ्य सेवा लिइरहेको दंगालले बताइन् ।

अग्रपङ्तीमा काम गर्ने स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि सुरक्षा अपनाउन उपयोगी हुने अस्पतालले जनाएको छ । दमक अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मी संंक्रमित भएका छन् ।