विराटनगर : खुला सीमा हुँदै भारतबाट हुने अवैध हतियार लागूऔषध र अन्य सामाग्रीको तस्करी रोक्न नेपाली सुरक्षा निकायले भारतीय समकक्षीलाई आग्रह गरेको छ । 

बुधबार भएको मोरङ-सुनसरी र भारतको सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूको छलफलमा नेपाल पक्षले अवैध तस्करी रोक्नकालागि आग्रह गरेको हो । जवाफमा भारतीय पक्षले नेपालबाट हुने मदिरा ओसारपसार र कालोधन ओसारपसार नियन्त्रण गरिदिन आग्रह गरेको छ । 

खुला सीमा भएका कारण मोरङ, सुनसरी र झापा जिल्लाको साझा समस्या लागूऔषध, हातहतियार खाद्यान्न र लत्ताकपडा तस्करी हो । नेपाल पक्षले हरेक पटकको बैठकमा समकक्षीसँग तस्करीको मुद्दा उठाउँछ । तर तस्करी नियन्त्रण भएको छैन ।

भारतको विहारमा मदिरा प्रतिबन्ध भएका कारण सीमावर्ती क्षेत्रमा रक्सीभट्टी खुलेका छन् । ती पसलबाट भारत र्फ मदिरा तस्करी हुने गरेको भारतीय पक्षको दाबी छ । बैठकमा भारतीय पक्षले  मदिराको पैठारी रोकिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

दुवै पक्षले अपराध नियन्त्रणमा सहकार्य गर्ने निर्णय गरेको उनले बताए । भारतीय पक्षले मदिरा र कालोधन ओसारपसारको मुद्दा उठाएको बताउँदै उनले नेपाल पक्षले तस्करीको समस्या समाधान गर्न आग्रह गरेको उनले जानकारी दिए ।

बैठकमा बढ्दो कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, सीमा अपराध, सीमा स्तम्भ,मानव बेचबिखन, चौपायाको तस्करीका विषयमा पनि छलफल भएको थियो । 

बैठकमा  नाका सिलमा भारतीय जनताबाट हुँदै आएको अवरोध हटाउन आग्रह गरिएको खड्काले बताए । नाका सिल हुँदा भारतीय पक्षले सीमा क्षेत्रमा नेपाली सुरक्षा निकाय माथि आक्रमणको प्रयास गरिरहेका छन् । भारतीय पक्षले विहारमा निकट भविष्यमा हुने निर्वाचनका लागि भारतीय अधिकारीले सहयोग गर्न नेपाली सुरक्षा अधिकारीलाई आग्रह गरेका छन् ।

बैठकमा भारतका तर्फबाट विहारको पूर्णियाका डिआइजी विनोद कुमार, सीमा सुरक्षा बल एसएसपीका सञ्जयकुमार सारंगी, अररिया जिल्लाका एसपी हृदयकान्त लगायतको सहभागी थियो । नेपालका तर्फबाट मोरङ , सुनसरीका सुरक्षा निकायका प्रमुख सहभागी थिए ।