विराटनगर : आकासे पानीको निकास नहुँदा विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ ।

मङ्गलवार देखि परेको वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका करिब दुई हजार पाँच सय घर डुबानमा परेका हुन ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार भारतले निर्माण गरिदिएको एकीकृत भन्सार जाँच परियोजना आइसीपी जोड्ने सडक र कोशी राजमार्गका कारण दक्षिणी क्षेत्र डुबानमा परेको हो ।

‘६ लेन परियोजना अन्तगतको (कोशी राजमार्ग) सडकमा पहिलो ९ वटा साइफन थिए, तर अहिले ६ वटा मात्रै छन् ।’ उनले भने ‘ साइफन नहुँदा पानी निकास भएन । अर्को तर्फ आइसीपीको बाँध जस्तै सडकले पनि डुबान गराएको छ ।’

चार दिनयता परेको वर्षाका कारण करिब दुई हजार पाँच सय घरमा पानी पसेको बताउँदै उनले निकासका लागि महानगरपालिकाले पहल गरिरहेको बताए ।

‘६ लेन परियोजनाको काम वैज्ञानिक देखिएन, जनताको सहजताका लागि बनाएको सडकले जतालाई दुःख दियो ।’ उनले भने ‘ छलफल गरेर परियोजनालाई साईफन थप गर्न आग्रह गरेका छौँ, दुई वटा साइफन थप गर्ने प्रक्रिया अगाडी बढाउने आश्वासन आएको छ ।’

भारतले निर्माण गरिदिएको ड्याम जस्तै सडकको विषयमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उनको गुनासो छ । ‘डुबानको ठुलो कारण आइसीपीको संरचना पनि हो। ’उनले भने ‘आइसिपीको संरचना र आइसीपी जोड्ने सडक पनि व्यावहारिक छैनन् ।’

सडक र आइसीपी परियोजना महानगर मातहत नपर्ने बताउँदै उनले केन्द्र सरकारलाई आग्रह गर्दा सरकारले समस्या समाधान गर्न चासो नदिएको बताए ।

आइसीपीसँगै भारत सरकारले रेल्वे परियोजना पनि निर्माण गरिरहेकाे छ । ड्याम उठाएर बनाइएको रेल्वे परियोजनाले पानी निकास रोकेको छ । रेल्वेमा निर्माण गरिएका निकास नाला जमिनको सतह भन्दा माथि छन् ।

भारतले आफ्नो भूभाग जोगाउने गरी संरचना निर्माण गरेका कारण विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको सरोकारवालाहरू बताउँछन् । ‘पहिले विराटनगरमा यस्तो डुबान हुँदैन थियो ।’ मेयर भन्छन् ‘ ड्याम जस्ता सडकले सामान्य झरीमा पनि डुबान भइरहेको छ ।’

वर्षाका कारण विराटनगर-१५ नम्बर वडा बढी प्रभावित भएको छ । त्यस्तै विराटनगर-१२,१३, १४ र १६ नम्बर वडाका घरहरु पनि डुबानमा परेका छन् ।

BRT-Duban-1