झापा : सोमबार गौरादह नगरपालिका-१ की पार्वता भण्डारीको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेपछि यति बेला गौरादहवासीमा त्रास उत्पन्न भएको छ ।घटनाको दोस्रो दिन मङ्गलवार घटनास्थल आसपास पुगेका स्थानीयवासी प्रहरीले कति बेला हत्यारा पत्ता लगाउला भन्ने आशामा बसेका थिए ।

सो स्थान आसपासका स्थानीयवासी तथा घटना भएपछि क्राईम सिन देखेकाहरूले भने यो निक्कै दर्दनाक घटना भएको बताइरहेका थिए । यस्तै मृतकका भतिजा देबु भण्डारीले आफूहरूलाई केही व्यक्ति प्रति शङ्का लागेको बताए । उनले भने, “पहिला देखी नै जग्गाको विषयमा केही व्यक्तिहरूले काकालाई धम्क्याई रहेका थिए । तिनै मध्येकाबाट यो घटना घटाइएको हुन सक्छ ।”

मृतक भण्डारीको घरै छेउमा रहेका छिमेकी मनिस चौलागाँइले घटनापछि आफूहरू त्रसित बनेको बताए । घटनापछि उनी पनि घटनास्थल पुग्ने र क्राईम सिन देख्ने व्यक्ति हुन् । उनले पनि यो घटनाले आफूहरूलाई निक्कै चोट दिएको र अहिले धेरै नै त्रास उत्पन्न गराएको बताए ।

गौरादहमै व्यवसाय गर्दै आएका मातृका भट्टराईले अब एक्लै दोक्लै हिड्नपनि डर लाग्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् । “गौरादहका प्राय पुरुष वैदेशिक रोजगारीमा छन्, घरमा महिला एक्लै बसेका पनि छन् । त्यस्ता महिलालाई त झन् यो घटनाले त्रसित तुल्याएको छ ।” उनले भने । 

यस्तै मृतकका छिमेकी मोहन प्रसाद खनालले व्यक्ति हत्याको घटनाले आफूहरूलाई दुखित तुल्याएको भन्दै विगतमा शिवसताक्षीमा भएको परिवार हत्याको घटनाबारे केही पत्ता नलाग्नुले यस घटनामा पनि केही शङ्का भने उत्पन्न भएको भन्दै हत्यारा चाँडो पत्ता लगाउन प्रहरी प्रशासन सामु आग्रह गरे ।

दिनदहाडै घरमै बसिरहेका व्यक्तिको यसरी हत्या हुनुले आफहरु त्रसित भएको र राती सुत्दा पनि डर लाग्ने अवस्था आएको स्थानीय शान्तिराम दाहाल बताउँछन् । शान्तिराम मात्र हैन स्थानीय सबिता कटुवालको भनाइनै उस्तै छ । घटनापछि उनीहरूलाई भोक र निन्द्रा नै हराइरहेको उनी सुनाउँछिन् ।

सुरक्षाका दृष्टिकोणले गौरादहलाई शान्त नै मानिएको थियो । तर अचानक गौरादहमा घटेको पछिल्लो घटनाले आम गौरादह बासीलाई त्रसित तुल्याएको नगरप्रमुख रोहित कुमार शाहले बताए । उनले नगर बासीलाई धैर्य गर्न आग्रह समेत गरे । हत्यारा चाडै पत्ता लाग्ने भएकाले प्रहरीको अनुसन्धानको अन्तिम नतिजा पर्खनुको विकल्प नरहेको उनले सुनाए ।

झापाका प्रहरी प्रमुख कृष्ण प्रसाद कोइरालाले आफूहरू यस घटनाको अनुसन्धानमै लागेको र केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भइरहेको जानकारी दिएका छन् । उनले अहिले अनुसन्धानकै क्रममा रहेको र सबै विवरण अहिले नै भनिहाल्दा अनुसन्धानमा बाधा पुग्ने भएकाले धैर्य गर्न आग्रह समेत गरेका छन् ।