इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको जारी सिजनअन्तर्गत लिग चरणको आधा यात्रा पुरा भएको छ। लिग चरणमा हरेक टोलीले ७ खेल खेलिसकेका छन्। लिग चरणमा हरेक टोलीले १४ खेल खेल्छन्।

त्यसपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायरका रुपमा फाइनल पुग्न प्रतिस्पर्धा हुन्छ। त्यस क्वालिफायरमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानका टोलीबीच हुने खेलको विजेतासँग फेरी फाइनल पुग्ने प्रतिस्पर्धा गर्छ।

यो सिजन ७ खेलपछि साविक विजेता मुम्बई इन्डियन्ससँगै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरको समान १० अंक छ। नेटरनरेटका आधारमा मुम्बई पहिलो, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा छ। कोलकाता नाइट राइडर्सको ८ तथा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको समान ६ अंक छ। चेन्नई सुपर किङ्सको ४ र किङ्स इलेभेन पन्जाबले दुई अंक जोडेका छन्।

प्रतियोगिताको पहिलो खेलमा चेन्नईसँग पराजित भएको मुम्बई त्यसपछि बैंगलोरसँग मात्र पराजित भएको हो। बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो। यसैगरि आफ्नो पहिलो खेलमा पन्जाबलाई सुपर ओभरमा हराएको दिल्लीले मुम्बई र हैदराबादसँग मात्र हार ब्यहोरेको हो। बैंगलोरले पन्जाब र दिल्लीबाहेकसँग हार ब्यहोरेको छैन।

सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा ब्याटिङतर्फ किङ्स इलेभेन पन्जाबका केएल राहुल र बलिङतर्फ दिल्लीका कागिसो राबडा शीर्षस्थानमा छन्। राहुलले एक सतक र तीन अर्धसतकसहित ३ सय ८७ रन जोडेका छन्। दोस्रो स्थानमा पनि पन्जाबकै मायांक अग्रवाल छन्। उनले एक सतक र २ अर्धसतकसहित ३ सय ३७ रन जोडेका छन्। तीन अर्धसतकसहित ३ सय ७ रन जोडेका चेन्नईका फाप डु प्लेसिस तेस्रोमा छन्। अन्य ब्याट्सम्यानले तीन सय रन पुरा गरेका छ‌ैनन्।

बलिङतर्फ राबडाले १७ विकेट हात पारेका छन्। उनको बलिङ इकोनोमी ७.६९ रन प्रतिओभर रहेको छ। दोस्रो स्थानमा रहेका मुम्बईका ट्रेन्ट बोल्ट र तेस्रो स्थानका जसप्रित बुमराहको समान ११ विकेट छ। बलिङ इकोनोमी बोल्टको ८.०१ र बुमराहको ७.९२ रन प्रतिओभर छ। हैदराबादका रसिद खान र बैंगलोरका युज्वेन्द्र चाहलले पनि समान १० विकेट हात पारेका छन्।

दिल्ली क्यापिटल्सले कोलकाताविरुद्ध २ सय २८ रन जोडेको थियो जुन जारी संस्करणमा एकै खेलमा कुनै एक टोलीले बनाएको सबैभन्दा धेरै रन हो। राजस्थानले २ सय २६ र पन्जाबले २ सय २३ रनसम्म बनाएका छन्। पन्जाबले दिएको २ सय २४ रनको लक्ष्य पुरा गरेर राजस्थान आईपीएल इतिहासमै सबैभन्दा धेरै लक्ष्य पुरा गर्ने टोली बनेको थियो। पन्जाब , मुम्बई र राजस्थानले दुईदुईपटक २ सयभन्दा बढी रन बनाएका छन् एकै पालीमा। कोलकाता,हैदराबाद, चेन्नई, दिल्ली र बैंगलोरले पनि एकएकपटक दुई सयभन्दा बढी रन बनाएका छन्।

प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचीमा पन्जाबका निकोलास पुरन शीर्षस्थानमा छन्। उनीसँगै राजस्थानका सन्जु सामसनको समान १६ छक्का छ। राजस्थानका राहुल तेवटीयाले १५ तथा मुम्बईका इसन किसन र रोहित शर्माले समान १४ छक्का प्रहार गरेका छन्। मुम्बईका कायरन पोलार्ड र बैंगलोरका एबी डे भिलियर्सको नाममा समान १३ छक्का छ।

प्रतियोगिताको यो सिजन दुई जना ब्याट्सम्यानले मात्र सतक बनाएका छन्। केएल राहुलले ब‌ै‌ंगलोरविरुद्ध एक सय ३२ र मायांकले राजस्थानविरुद्ध एक सय ६ रन बनाएका थिए। इसन किसन ९९, हैदराबादका जोनी बेयर्स्ट ९७ रन बनाएर आउट भएका थिए भने बैंगलोरका विराट कोहली चेन्नईविरुद्ध ९० रनमा अविजित रहेका थिए।

लिग चरणको बाँधी आधा भागमा अब फेरी हर‍ेक टोलीले प्रत्येकसँग एक एक खेल खेल्ने छ।