धरान : डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरानले जितेको छ।
मङ्गलवार सम्पन्न फाइनल खेलमा प्रभातले इटहरीको पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० अङ्कले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
चार क्वाटरमा भएको प्रतिस्पर्धात्मक खेलमा प्रभातले पहिलो क्वाटर ५–४ ले जितेको थियो। दोस्रो क्वाटर १०–११ ले पाराडाइजको पक्षमा गए पनि तेस्रो क्वाटर ७–३ र चौथो क्वाटर १६–१२ ले आफ्नो पक्षमा पार्दै प्रभातले समग्र खेल ३८–३० अङ्कले जित सुनिश्चित गर्‍यो।
उपाधिसँगै प्रभातले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता पाराडाइजले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
फाइनल खेलमा प्रभातका नेमसाङ मगर म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताभरको प्रदर्शनका आधारमा पाराडाइजका सक्षम तामाङ उदयमान खेलाडी, प्रभातका सुशान्त उराव सर्वाधिक महत्त्वपूर्ण खेलाडी  तथा हिमालयन मेघा एकेडेमी, धरानका सङ्गम ठाकुर सर्वाधिक अङ्ककर्ता घोषित भए।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको थियो।
डिपो माध्यमिक विद्यालयले विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ।
विद्यालयको नेतृत्व गरिरहेकै क्रममा कोरोना महामारीका कारण २०७८ साल साउन १५ गते उनको निधन भएको थियो।