विराटनगर : प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रूपान्तरण आवश्यक रहेकोमा जोड दिएका छन् ।

प्रदेश प्रमुख अधिकारीले प्रविधिको रूपान्तरण विना जनताको जीवनस्तर उकास्न नसकिने बताए । विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रूपान्तरण आवश्यक रहेको बताए ।

विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकको सूचना प्रविधि सम्बन्धी क्षमता विकासका लागि दोस्रो चरणको अनलाइन तालिमको आज शुभारम्भ गर्दै प्रदेश प्रमुख अधिकारीले सो कुरा बताए । उनले शिक्षकलाई प्रविधि प्रेमी बन्न आग्रह गरे ।

सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिस्पर्धी बन्न प्रदेश प्रमुख अधिकारीले आग्रह गरे । पछिल्लो समय शिक्षा सही दिशामा नगएको भन्ने चिन्ता देखिएकाले सही दिशामा ल्याउन आग्रह गरे । 

यसै गरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सबै विद्यालय चाँडै प्रविधिमैत्री बन्ने बताए । १० वर्षभित्रमा किताब र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान भए पनि २–४ वर्ष भित्रमा सबै विद्यालय प्रविधिमैत्री बन्ने उनको भनाई छ ।

१ हजार ३ सय बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याब निर्माण गरिसकिएको मन्त्री घिमिरेले बताए । प्रत्येक स्थानीय तहका १ सय शिक्षक प्रविधिमैत्री बन्ने उनले बताए । मन्त्री घिमिरेले,‘ प्रत्येक स्थानीय तहका १ सयले सूचना प्रविधि सम्बन्धी तालिम लिएपछि अन्य शिक्षकलाई पनि सिकाउने छन् ।’

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालिम पछि विद्यालयको पठन पाठनमा ठुलो परिवर्तन आउने बताइन् । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालयहरू सूचना प्रविधि मैत्री हुन आवश्यक रहेकोमा जोड दिए । शिक्षकलाई पेसागत रूपमा सक्षम बनाउने उद्देश्य  सहित तालिम सुरु गरिएको सचिव कार्कीले बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम गत असोज १५ गतेदेखि सुरु भएको छ । पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागी छन् ।

दोस्रो चरणको तालिम आजदेखि सुरु भएको छ । दोस्रो चरणका तालिममा १० वटा स्थानीय तहका १ हजार शिक्षक सहभागी भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।