धरान : इटहरी उपमहानगरपालिकाले चारकोशे जङ्गलमा सेफ्टी टङ्कीबाट मानव मल मूत्र जथाभाबी फाल्ने गरेको छ ।

धरान उपमहानगरपालिकाको क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा इटहरी उपमहानगरले जथाभाबी रूपमा सेफ्टी टङ्की मार्फत मानव मलमूत्र तथा फोहोर फाल्ने गरेको कारण इटहरीबासीनै फोहोरका कारण समस्यामा पर्ने गरेका छन् ।

आज बिहान खानेपानीको वेल हाउसमा स्थलगत निरीक्षण गर्न पुगेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले यसरी इटहरी उपमहानगरले अव्यवस्थित रूपमा फोहोर फाल्दा मानव स्वास्थ्य र प्रकृतिमा गम्भीर असर परिरहेको बताए ।

Fhohor-1

मेयर राईले अव्यवस्थित तरिकाले चारकोशे जङ्गलमा मानव मलमूत्र विसर्जन गर्न ल्याउँदै गरेका को १ ख ६२९३ नं।को सेफ्टी ट्याङ्कीको गाडीलाई बिचबाटो बाट नै फर्काई दिएका छन् । मेयर राईका अनुसार इटहरी उपमहानगरले यस विषयमा धरान उपमहानगरसँग कुनै पनि सम्झौता गरेको छैन ।

‘धरान उपमहानगर क्षेत्रमा पर्ने यस स्थानलाई हाँसपोसा सामुदायिक वनलाई संरक्षण गर्न दिएका हौँ, यसरी मानव स्वास्थ्य र प्रकृतिलाई असर पर्ने गरी फोहोर फाल्न दिएका हैनौँ’ मेयर राईले भने । धरान उपमहानगरको क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा यसरी अव्यवस्थित तरिकाले फोहोर फाल्न नपाइने भन्दै तत्काल रोक्न लगाउने मेयर राईले बताए । उक्त क्षेत्रमा दिउँसो धरान उपमहानगरका नगर प्रहरी खटाइएको थियो ।

इटहरी उपमहानगरले जथाभाबी रूपमा फालेको फोहोरको दुर्गन्धका कारण खानेपानीको वेल हाउसमा बस्ने कर्मचारीका परिवारका सदस्यहरू समेत विरामीे हुन थालेका छन् । उक्त क्षेत्रमा मानव मलमूत्र तथा फोहोर फाल्न दैनिक ९, १० वटा सेफ्टी ट्याङ्कीको गाडी आउँछन् भने ११ वटा कचेराको गाडी आउने गरेका छन् ।

मानव मलमूत्र विसर्जन गर्न ल्याउँदै गरेका को १ ख ६२९३ नं।को सेफ्टी ट्याङ्कीका चालक भीम बहादुर तामाङले इटहरीका मेयर र उपमेयरसँग समन्वय गरेर यस क्षेत्रमा फाल्ने गरिएको बताए । साथै उनले सामुदायिक वनसँग पनि सम्झौता गरेर फाल्ने गरिएको बताए । सामुदायिक वनलाई एक वटा सेफ्टी ट्याङ्की बापत महिनाको २५ सय रुपैयाँदेखि ३ हजार सम्म दिने गरेको उनले सुनाए ।

धरान उपमहानगरका वातावरण शाखा प्रमुख भेषराज घिमिरेले नगरको विकास विस्तार हुँदै गर्दा देखि नै त्यस क्षेत्रमा इटहरीले फोहोर फाल्ने गरेको जानकारी दिए । साबिक जिल्ला वन कार्यालय सुनसरीले समेत त्यस क्षेत्रमा फोहोर नफाल्न पटक पटक आग्रह गरेको उनले बताए ।

धरान उपमहानगरले पनि इटहरी उपमहानगरलाई जथाभाबी रूपमा फोहोर नफाल्न आग्रह गरिएको उनले बताए । इटहरी उपमहानगरले सेफ्टी ट्याङ्की मार्फत त्यस क्षेत्रमा जथाभाबी रूपमा मानव मलमूत्र फालिएको कारण दुर्गन्ध फैलिएको सबैतिरबाट गुनासो आएको उनले बताए ।

उनले भने, ‘मानव मलमूत्र तथा फोहोरलाई व्यवस्थित तरिकाले खाल्डो खनेर पुरिएको भए दुर्गन्ध फैलिँदैन थियो ।’ इटहरी उपमहानगरले पनि फोहोर व्यवस्थापन गर्नका लागि अहिले जङ्गल बाहिर नै ल्याण्डफिल्ड निर्माण गर्दै गरेको बताइएको छ ।

इटहरी उपमहानगरले जङ्गलमा जथाभाबी रूपमा फोहोर फालेको कारण यस्तो समस्या सृजना भएको उनले बताए । उनका अनुसार भोलि धरान उपमहानगर र इटहरी उपमहानगरबिच यस विषयमा अन्तरक्रिया हुनेछ ।
धरानमा भने धरान वडा नं. ६ स्थित पानवारीमा फोहोरबाट ऊर्जा निकाल्ने वेस्टटु इनर्जी परियोजना आउँदो जनवरीबाट सञ्चालनमा आउँदैछ ।

Fhohor