धरान : धरान उपमहानगरपालिकाका मेयर उपमेयरले आज कक्षा १२ को परीक्षा संयुक्त रूपमा धरानका विभिन्न परीक्षा केन्द्रमा पुगी अनुगमन गरेका छन् ।

कोभिड–१९ को जोखिम प्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, शिक्षा शाखा अधिकृत रामचन्द्र कार्की र प्रशासकीय प्रमुख विदुर प्रसाद खनालले परीक्षाको संयुक्त रूपमा अनुगमन गरेका हुन् ।

मेयर र उपमेयर सहितको टोलीले धरानका पब्लिक उच्च माध्यमिक विद्यालय, युएन कलेज र नवोदय माध्यमिक विद्यालयमा पुगेर परीक्षा अनुगमन गरेका थिए ।

मेयर तिलक राईले कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित ढङ्गबाट सञ्चालन भइरहेको जानकारी दिए । मेयर राईका अनुसार अनुगमन गरिएको विद्यालयमा परीक्षार्थी र शिक्षकले स्वास्थ्य मापदण्डको पालना गरेको पाइएको थियो ।

अनुगमनका क्रममा निजी विद्यालयमा स्वास्थ्य फोकल पर्सन राखिएको भेटिएको बताउँदै मेयर राईले सामुदायिक विद्यालयमा पनि स्वास्थ्य फोकल पर्सन ९स्टाफ नर्स० राख्न आवश्यक रहेको बताए । अब धरानमा स्वास्थ्य प्रोटोकलको पालना गरी विद्यालयहरू खुलाउने तयारी भइरहेको पनि मेयर राईले बताए ।

उपमेयर मञ्जु भण्डारी सुवेदीले अनुगमन गरिएको विद्यालयहरूमा मर्यादित र व्यवस्थित तरिकाले परीक्षा सञ्चालन भइरहेको पाइएको बताइन् । परीक्षाको चुस्त व्यवस्थापनबाट सञ्चालन भइरहेको प्रति आफू सन्तुष्ट रहेको उनले बताइन् ।

धरान - १२ स्थित रहेको पब्लिक उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र मोहन झाले परीक्षा अत्यन्तै मर्यादित ढङ्गबाट सञ्चालन भइरहेको बताउँदै अब चाडै नै विद्यालयहरू खुलाउनुपर्ने बताए । लामो समय बन्दाबन्दी भएको कारण विद्यार्थीहरूको भविष्य नै डामाडोल हुने स्थितिमा पुगेको उनले बताए ।

प्रत्येक विद्यालयमा हेल्थ डेस्कको व्यवस्था गरी फोकल पर्सनको रूपमा एक जना स्टाफ नर्स राखी विद्यालय सञ्चालन हुनुपर्ने बताए । गत वैशाख ८ गतेका लागि तोकिएको परीक्षा कोभिड–१९ र बन्दाबन्दीका कारण स्थगन भएको थियो ।

धरान उपमहानगरका शिक्षा तथा खेलकुद शाखाका अधिकृत रामचन्द्र कार्कीले शिक्षा मन्त्रालयबाट नै विद्यालय खुला गर्न निर्देशन आएको बताउँदै विद्यालयका प्रधानाध्यापक र अभिभावकहरूसँग समन्वय गरेर विद्यालयहरू खुलाउने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार सबैको मनसाय नै विद्यालय खुलाउनुपर्नेछ । यस विषयमा शिक्षक र अभिभावकहरू पनि सकारात्मक रहेको उनले सुनाए । ‘विद्यालयहरू खुल्छ, केही दिन अघि मात्र यस विषयमा विद्यालयका प्रधानाध्यापक र अभिभावकहरूसँग धरान उपमहानगरको बैठक भएको थियो ।

यसैबिच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माईक्रोबायोलोजि विभागका एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराईले यस्तो विषम परिस्थितिमा विद्यालय खुलाउन उचित नहुने बताएका छन् ।

बालबालिकाहरूमा मास्क लगाउने बानी नभएको बताउँदै उनले भने, ‘घरबाट अभिभावकहरूले बालबालिकालाई मास्क लगाएर विद्यालय पठाएका हुन्छन्, घर फर्किँदा मास्क हुँदैन, विद्यालयमा धेरै खल्को विद्यार्थी हुन्छन्, जसले गर्दा बालबालिका मात्र नभई अभिभावकमा समेत सङ्क्रमण सर्न सक्छ ।

’ जाडो मौसम सुरुभएसँगै बालबालिका झन् सङ्क्रमणको खतरामा हुन सक्ने उनको भनाई छ । अहिलेको अवस्थामा अनलाइन माध्यमबाट नै अध्ययन गराउन ठिक रहेको उनले बताए ।