पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको पुस्तकको परिचर्चा

  • पुष १९, २०७७
  • ३५० पटक पढिएको
  • कपुरी न्युज
alt

धनकुटा : पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता कृति 'बुढो गौँडा र इष्टेनीहरु' को परिचर्चा कार्यक्रम धनकुटामा आयोजना गरिएको छ ।

मिसन पोइट्रीको आयोजनामा गरिएको कार्यक्रममा अधिकारीको नवीन पुस्तकमा समावेश गरिएका कविताबारे कवि तथा भाषाविद्हरूले समीक्षा तथा समालोचना गरे ।

सो अवसरमा भाषाशास्त्री प्रा.डा.टङ्कप्रसाद न्यौपानेले परिवेशबाट उठान गरिएको कृति भित्र समग्र मुलुक प्रतिको चिन्तन, समसामयिक परिवेश, प्राकृतिक सौन्दर्यता आञ्जलिकता, सांस्कृतिक माधुर्यता र भाषिक शिल्पी रहेको टिप्पणी गरे ।

पछिल्लो समय आञ्जलिकता ओझेलमा पर्दै गएको अवस्थामा कवि अधिकारीले त्यो रिक्तता पुरा गरेको उल्लेख गरे । नबुझिने कविता भन्दा सरल कविताको माग रहेको अवस्थामा बुढो गौँडा र इष्टेनीले त्यो मर्म बुझेको उनको कथन थियो ।

यस्तै पुस्तक माथि परिचर्चा गर्दै सहप्राध्यापक यज्ञप्रसाद गुरागाईले कविता कृतिमा आञ्जलिकता, व्यङ्ग्य, शान्तिको चाहना, भाषा र शिल्पी, वर्ण विन्यास र सौन्दर्य उत्तम रहेको उल्लेख गरे । उनले सांस्कृतिक, प्रणय, रूपक, उपमा लगायत विम्बबाट कविता कृति सजिएको चित्रण गरे ।

सहज सरल, वोधगम्य समाजमा रहेका विसङ्गति शोषण उत्पीडितनको चिरफार गरिएको पुस्तक अनुसन्धान मुलक रहेको र नेपाली साहित्यमा ओजपूर्ण इँटा थपिएको उनको कथन थियो ।

कार्यक्रममा स्रष्टा अधिकारीले जीवन नै कविता र कविता नै जीवन लाग्ने उल्लेख गरे । २०५२ देखि २०७७ सम्म आफूले लेखेका कवितालाई सङ्ग्रहको रूपमा पुस्तकाकारको रूपमा समेटेको जनाए । कवि मुकुन्द प्रयास, के.जी.सुब्बा लगायतले पनि पुस्तकबारे धारणा राखे ।

सोही अवसरमा कविता कृति 'बुढो गौँडा र इष्टेनीहरु’ हरूमा समावेश कविता विभिन्न कविहरूले वाचन गरेका थिए । कवि घनश्याम बरालले चिन्नु भो म उही धनकुटा, मुकुन्द प्रयासले मतपेटिकाको साँचो, रोशन परियारले निरुत्तरित प्रश्न, केजी सुब्बाले त्यो दिन यो दिन, गीता अधिकारीले सिरानघरे कान्छीलाई चिठी, निर्मला कुँवरले कवि ज्यु लाई प्रश्न, सञ्जय सयलले निरुत्तरित प्रश्न शीर्षकका कविता वाचन गरे ।

दुई चरणमा आयोजना गरिएको कार्यक्रमको दोस्रो शृङ्खलामा विभिन्न कविहरूले आफ्ना रचना वाचन गरेका थिए। जसमा गोपाल भण्डारी, घनश्याम औलाली, अनन्त अनुराग, द्वारिका रिजाल, मुकुन्द प्रयास, रोशन परियार, देवकला कार्की, प्रज्वल पुकार, निर्मला कुँवर, इन्दु के.सी., यानिन्द्र तिगेला लगायतले रचना वाचन गरेको मिसन पोइट्रीका संयोजक के.जी.सुब्बाले जानकारी दिए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved