काठमाडौँ  : गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ ।

'तिम्रो याद भुलाउन' बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड छन् । गीतमा उमेश रेग्मीको शब्द तथा सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन छ ।

युवराज बाइबाले निर्देशन गरेको भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको देखाइएको छ । याद भुलाउन मदिराको सहारा लिँदा प्रेमीले आफूलाई अझ बिगारिरहेको सन्देश भिडियोमा व्यक्त गरिएको छ । गीतबारे गायक शिव परियार भन्छन्, ‘यसलाई राम्रो आधुनिक गीतका रूपमा चित्रण गर्न चाहन्छु । गीतले नशा पिएर रमाइलो गर्ने भन्दा पनि नशा पिएर म खराब भएँ भन्ने म्यासेज दिन्छ । पक्कै श्रोता–दर्शकले मन पराउनुहुनेछ ।’

लामो समयदेखि संचारकर्ममा सक्रिय नरेश भट्टराई पछिल्लो समय लगातार म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यो भिडियोबाट दर्शकको माया पाउनेमा उनी विश्वस्त छन् । यसअघि आधा दर्जन बढी भिडियोमा अभिनय गरेकी मोडल साक्षी लम्सालले आफ्नो कामलाई दर्शकले रुचाउनेमा आशावादी सुनिइन् ।

लामो समयदेखि अमेरिका बस्दै आएका उमेश रेग्मीको शब्द तथा सङ्गीतमा अहिलेका धेरै चलेका गायक–गायिकाले गीत गाइसकेका छन् । अमेरिकामा रहेर पनि नेपाली गीत सङ्गीतमा सक्रिय रेग्मीको ‘बाबाको दुई पेसै जागिर, मेरो याद तिमीलाई आउँछ आउँदैन’, ‘मैले गर्ने मायामा’, ‘प्रिय तिम्रो तस्बिर’, ‘छोरी’ लगायत गीत चर्चित छन् ।

सुनसरी इनरुवा निवासी रेग्मी लामो समय धरानमा सङ्घर्ष गरेर अमेरिका पुगेका हुन्। रेग्मीले आफ्नो जन्म स्थलको सम्झनामा सुनसरी इनरुवालाई समेटेर गीत बनाई रहेका छन्,उक्त गीत छिट्टै सार्वजनिक गरिने उनले बताए।

निसल पौडेलले छायाङ्कन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।