धरान : प्रदेश १ बास्केटबल खेलाडी प्रदीप गुरुङको उपचारको लागि धरान १३ स्थित सञ्जीवनी केन्द्रले आर्थिक सहयोग गरेको छ ।

केन्द्रले मङ्गलवार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका गुरुङलाई भेटेर नै नगद दश हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्रकारले हस्तान्तरण गरेका थिए ।

गुरुङ लकडाउनको समयमा सेल्फ प्राक्टिसको क्रममा घाइते भएका थिए । उनको उपचारको लागि धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घले अभियान समेत चलाएका छन् ।

केन्द्रले यही पौष २३ र २४ गते प्रथम सञ्जीवनी फुटसल प्रतियोगिताको आयोजना गरिरहेको छ । यही कार्यक्रमबाट उठेको रकम वाट गुरुङलाई सहयोग गरिएको केन्द्रका अध्यक्ष ताम्रकारले बताए ।

प्रतियोगिता कार्यक्रमबाट उठेको रकम वाट ५ वटा सामाजिक कार्य गर्ने योजना रहेको र यही योजना अनुसार खेलाडी गुरुङलाई सहयोग गरिएको उनले बताए ।

आयोजक केन्द्रले धरान १० स्थित आयोजना स्थल धरान फुटसल अगाडिको बाटोमा जेव्राक्रस बनाइसकेको छ । प्रतियोगितामा काठमाण्डौका एक टिम सहित प्रदेश १ भरिका ३२ टिमले सहभागिता जनाएको छ ।

केन्द्रले प्रतियोगिताको प्रचारको लागि सोमवार नेपाल फोटो पत्रकार मसहासंघ सुनसरी र आयोजक टिम बिच मैत्रीपूर्ण फुटसल समेत खेलिएको थियो ।