म्यानमारकी नेतृ आङ सान सूकी पक्राउ परेकी छन् । सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको सो पार्टीका प्रवक्ताले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सेना र सरकारबिच तनाव चलिरहेका बेला सूकी पक्राउ परेकी हुन् । सूकी पक्राउ परेसँगै सैन्य कू को आशङ्का बढेको छ ।

गएको नोभेम्बरमा भएको चुनावमा सुकीको एनएलडीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।

सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो । बर्माका रूपमा समेत चिनिने म्यानमारकी नेतृ सूकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो ।

गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएका बेला सूकी पक्राउ परेकी हुन् ।

सूकी पक्राउ परेसँगै राजधानीसहित म्यानमारको प्रमुख सहरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यस्तै अरू प्रजातन्त्रवादी नेताहरू पनि पक्राउ परेको उल्लेख छ ।

राजधानीसहितका प्रमुख सहरहरूमा ठुलो सङ्ख्यामा सैनिक तैनाथ भएको बिबिसीले उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार सोमबार बिहानै सूकी सहित राष्ट्रपति विन मिन्ट र अरू नेताहरूलाई सेनाले पक्राउ गरेको एनएलडीका प्रवक्ता मिओ निउन्तले समाचार संस्था रोयटर्सलाई टेलिफोनमार्फत बताएका छन् ।

उनले समर्थकहरूलाई आक्रोश र हतारमा प्रतिक्रिया नजनाउन अपिल गरेका छन् । कानुन अनुसार विरोध जनाउन उनले आग्रह गरेको रोयटर्सले जनाएको छ । प्रवक्ता मिओ पनि पक्राउ परेका छन् ।

राजधानीसहितका सहरमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीहरूलाई पनि उनीहरूकै घरबाट पक्राउ गरेको छ । आइतबार सेनाले संविधान अनुसार गर्ने बताएको थियो । त्यसलाई सैन्य कू को तयारीका रूपमा लिइएको थियो ।

नोभेम्बर ८ मा भएको चुनावमा एनएलडीले उपलब्ध मध्ये ८३ प्रतिशत सिटमा जित हाँसिल गरेको थियो । सन् २०११ मा सैन्य शासन अन्त्य भएयताको दोस्रो चुनावलाई सुकीको परीक्षणका रूपमा समेत हेरिएको थियो । तर सेनाले चुनावी नतिजालाई धाँधली भन्दै चुनौती दिएको थियो ।