धरान : धरान प्रज्ञा प्रतिष्ठानद्वारा आगामी माघ २९ गते धरानभित्र रहेका विभिन्न आदिवासी मातृभाषाको बहुभाषिक कविता गोष्ठी हुने भएको छ ।

कविता गोष्ठीको बारेमा आज धरान–८ मा रहेको धरान सभागृहस्थित प्रतिष्ठान हलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलन कार्यक्रम संयोजक तथा प्रतिष्ठान सदस्य प्राज्ञ गोपाल देवानको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतिष्ठान सदस्य प्राज्ञ शुभचन्द्र राईले कार्यक्रमको बारेमा जानकारी दिने प्रेस विज्ञप्ति वाचन गरेका थिए ।

कार्यक्रममा संयोजक देवानले धरानभित्र रहेका विभिन्न आदिवासी मातृभाषाहरूको संरक्षण तथा ती मातृभाषामा साहित्य लेखन होस भन्ने हेतुले बहुभाषिक कविता गोष्ठी आयोजना गरिएको बताए । नेपाली राष्ट्रिय भाषा र संस्कृत विश्वभाषा भएको र तिनीहरूको विकासका लागि राज्य स्तरबाटै विविध नीति तथा कार्यक्रम सञ्चालन भइरहेको हुँदा बहुभाषिक कवितामा आदिवासी मातृभाषाहरूलाई मात्र समावेश गरिएको प्रस्ट्याए ।

कार्यक्रममा प्राप्त कविताहरूमध्येबाट भाव र शिल्पका आधारमा ३० वटा कविताहरूलाई निर्णायक मण्डलद्वारा चयन गरी कविहरूका लागि वाचन वा प्रस्तुतीकरण गर्न दिइने बताइएको छ । सहभागी मातृभाषा कविहरूमध्येबाट उत्कृष्ट दश छनौट गरी उनीहरूलाई जनही ५पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

सहभागी मातृभाषा कविहरू सशरीर भौतिक रूपमा उपस्थित हुनु पर्नेछ । अन्यथा कवितालाई समाहित नगरिने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।