इटहरी : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नी प्रसाद सापकोटा र उपराष्ट्रपति नन्दबहादुर पुन झगडिया भएको आरोप लगाएका छन् । सरकार विरुद्धमा हात धोएर लाग्ने र किर्ते गर्ने काममा लागेको उनले बताए ।

विराटनगरमा आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड नेपाल समूह प्रति आक्रोश व्यक्त गरे । केही काम गर्ने बित्तिकै मुद्दा हाल्न जाने काममा सभामुख लागी परेको उनको भनाई छ ।

Nekapa-Janasabha-1

संवैधानिक अयोगमा मान्छेहरू नियुक्ति गरेपछि प्रचण्ड नेपाल समूह आक्रोशित भएर भागेको उनको आरोप छ । ‘केही दिन अगाडी नेपाल बन्द भयो ।

किन भएको रहेछ भनेर बुझ्दा भूमि आयोग गठन भएपछि सकुम्बासी समस्या समाधान हुने भएकोले वहाँहरू आत्तिएर नेपाल बन्द गर्नुभयो ।, उनले भने, सुकुम्वासी र भूमिहीनका विरुद्ध नेपाल बन्द गर्नुभयो ।

मधेसी थारु जनजातिका विरुद्ध वहाँहरू नेपाल बन्द गर्न थाल्नुभएको छ । विकास र समृद्धिका विरुद्धमा लाग्नेहरू लागीरहन्छन । सरकार काम गर्न छाड्दैन ।’

एकै दिनमा ३०९ वटा अस्पताल उद्घाटन गरेर सरकारले विश्वमै नभएको ऐतिहासिक काम भएको उनको भनाई छ । अब केही वर्षमै उत्तर दक्षिण राजमार्ग अन्तरगत किमाथाङ्का देखी जोगबनी र ओलङ्चुङगोला देखी काँकडभिट्टा नाका जोडिने उनले बताए ।

Nekapa-Janasabha-2

समृद्धिको यात्रामा सरकार लागी परेकोले आगामी वर्षमै मुलुक अल्पविकसित बाट विकासशील मुलुकमा रूपान्तरण हुने जिकिर गरे । सप्तकोसीमा सञ्चालित स्टीमरलाई जोड्दै उनले भने, ‘मैले पानी जहाज बनाउँछु भन्दा कागजको डुङ्गा बनाएर मलाई उडाए तर अहिले चतराबाट १० मिनेटमा भोजपुर पुग्ने अवस्था सृजना भएको छ । के यो समृद्धि हैन ?

न्युटनले गुरुत्वआकर्षणको नियम पत्ता नलगाएको भन्दै उनले हाम्रा कोर्स बुक सच्याउनुपर्ने धारणा राखे । गणीतिज्ञ भाष्कराचार्यले निकालेको सिद्धान्त पत्ता लगाएको भए न्युटनको सिद्धान्तको लागी धेरै मेहनत गर्नुपर्ने उनको बुझाई छ ।

Nekapa-Janasabha-3