धरान : सुनसरी बहिरा क्रिकेट सङ्घको छैटौँ साधारण सभा धरानमा सम्पन्न भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष श्री मोहन तिवारीको प्रमुख आतिथ्य र सुनसरी बहिरा क्रिकेट सङ्घका अध्यक्ष श्री भानु आचार्यको अध्यक्षता गत शनिबार सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथि श्री मोहन तिवारीले बहिराहरूको क्रिकेट खेल विकासका लागि आफूले राष्ट्रिय अभियान सञ्चालन गरेको बहिराहरुको ११ औँ क्रिकेट प्रतियोगिता निकट भविष्यमा सञ्चालन हुने जानकारी गराए।

अहिले सम्म बहिरा महिलाहरुको प्रतिनिधि क्रिकेटमा नभएको कुरामा पुनर्विचार गरी विधानमा संशोधन गर्ने सोच रहेको बताए। निकट भविष्यमा नै प्रदेश १ स्तरको बहिरा क्रिकेट समिति समेत गठन गर्न छलफल चलाउने जानकारी दिए। सुनसरी बहिरा क्रिकेट सङ्घ ले छोटो समयमा धेरै प्रगति गरेको मा धन्यवाद ज्ञापन गरे।

सङ्घका अध्यक्ष श्री भानुलाल आचार्यले कोरोनाका कारण खेलाडीमा परेको नकारात्मक प्रभावलाई अब चिर्दै तालिमको व्यवस्था चांडै नै गर्ने, सुनसरी जिल्लाका विभिन्न नगरपालिकाहरूमा रहेका क्रिकेट प्रेमी बहिरा खेलाडीहरूलाई प्रोत्साहित गरी अगाडि बढाइने बताए।

क्रिकेट तालिमका लागि आवश्यक आर्थिक सहयोगका लागि स्थानीय निकायहरुमा प्रस्ताव लैजाने समेत बताउँदै उनले राष्ट्रिय क्रिकेट सङ्घले निकट भविष्यमा सञ्चालन गर्न लागेको ११औँ क्रिकेट प्रतियोगिता मा सुनसरी बहिरा क्रिकेट सङ्घले सक्रिय रुपमा भाग लिने जानकारी दिए।

दुई सत्रमा सञ्चालन भएको साधारण सभामा सङ्घका महासचिव महेन्द्र लिम्बूले सङ्घले आ बा २०७६/७७ मा गरेका विभिन्न कार्य हरुको प्रगति विवरण पेस गरेका थिए भने कोषाध्यक्ष नीरज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भयो। कार्यक्रमको सञ्चालन र दोभासे को कार्य सङ्घका सल्लाहकार विदुर पौडेलले गरेका थिए।