पथरी : देशभर १११ औँ नारी दिवस मनाइरहँदा मोरङको पथरीशनिश्चरेमा नारी दिवसका अवसरमा आयोजित कार्यक्रमस्थल भने तनावग्रस्त बनेको छ ।

गत पुस १४ गते नेकपाका नेता युवराज बास्कोटाका घरमा मृत अवस्थामा भेटिएका पथरीशनिश्चरे वडा नं १० का १९ वर्षीय सञ्जीव भण्डारीकी आमा राधिका भण्डारीले आफ्ना गुनासाहरू राख्ने क्रम देखिनै असामान्य बनेको कार्यक्रम स्थलमा नेता बास्कोटा प्रवेश गर्नासाथ तनावग्रस्त बनेको थियो ।

नेता बास्कोटा कार्यक्रम स्थल प्रवेश गर्नासाथ हत्यारा भन्दै मृतक भण्डारीकी आमा राधिका भण्डारीसहित उपस्थित महिलाहरूले नेता बास्कोटामाथि कुर्सी  प्रहार गरे । आक्रोशित स्थानीय महिलाहरू बास्कोटामाथि जाइलाग्न थालेपछि प्रहरीले कार्यक्रम स्थल पुगेर बास्कोटालाई कार्यक्रम स्थलबाट निकालेका थिए ।

बास्कोटालाई निकाल्ने क्रममा समेत महिलाहरूले उनी माथि जुत्ता प्रहार गरेका थिए ।

के हो घटना ?

गत पुस १४ गते बिहानै भण्डारीको शव नेता बास्कोटाका घरमा भेटिएको थियो । झण्डै एक हप्ताअघि बास्कोटा आफै आएर आफ्नो छोरालाई लिएर गएको मृतक भण्डारीकी आमा राधिका भण्डारीको आरोप छ ।

नेकपा विभाजनको अवस्थामा पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई केन्द्रिय सदस्यका रूपमा नियुक्त गरेका थिए । आफू शपथ खान काठमाडौँ जानुपर्ने भन्दै केहि दिन उनको घर कुरिदिन नेता बास्कोटाले आग्रह गर्दै आफ्नो पिए बनाइदिने, जागिर मिलाईदिने लगायतका आश्वासन दिएको  छोराले आफूलाई बताएको मृतक भण्डारीकी आमा राधिका भण्डारीको भनाइ छ । 

घटनाको २ महिना कटिसक्दा समेत प्रशासनले अनुसन्धान नगरेको मृतक भण्डारीकी आमा राधिका भण्डारीको आरोप रहेको छ । उनि भन्छीन ‘मेरो छोरालाई सधैँ ५ बजे नै मर्निङ वाकका लागि भन्दै लिन आउँथे, सधैँ ५ बजे नै मर्निङ वाकमा सँगै हिँड्ने मेरो छोराको घटना भएको दिन मलाई किन ७ बजेपछि मात्र खबर गरियो ? 

आफ्नै घरमा दिउँसो बस्दा त ढोका लगाएर बस्ने मेरो छोरा अर्काको घरमा रातको समयमा कसरी ढोका नलगाई सुत्छ ?  घटनाको दिन प्रशासनपछि आफूलाई खबर गर्नुपर्ने तर आफूलाई नबोलाई आफ्ना दलका नेताहरूलाई खबर गरेपछि मात्र आफूलाई बिरामी भएको छ भन्दै बोलाउनुले घटना शङ्कास्पद भएको उनको भनाई छ ।

बास्कोटा काठमाडौँ हुन्जेल घटना नहुनु र उनी आएको पर्सिपल्टनै शव भेटिनुले पनि आफ्नो छोराको हत्या नै भएको उनका बुबा गोपाल भण्डारीको आरोप  छ । यता प्रहरीले भने उक्त घटनाको पोष्टमार्टममा हाइपर टेन्सनका कारण मृत्यु भएको रिपोर्ट आएको र बाँकी कुरा भिसेरा रिपोर्ट आएपछि मात्र खुल्ने बताउने गरेको छ ।