हाल विश्वमा मान्यता प्राप्त आठ हजार मिटर अग्ला हिमाल १४ वटा रहेका छन् । त्यसो त निकट भविष्यमै विश्वको मानचित्रमा आठ हजार मिटरभन्दा माथिका अरू ६ वटा हिमाल थप हुँदैछन्। सौभाग्यवश थपिने ती ६ वटै आठ हजार मिटरभन्दा माथिका हिमाल नेपाल सरहदभित्र रहेका छन्।

जे होस्, विश्वकै अग्ला (आठ हजारभन्दा माथिका) १४ वटा हिम चुचुराहरू कुन देशमा वा कहाँ छन् ?, ती हिमाल कसले पहिले चढे ? कहिले चढे ? ती हिमाल पहिलो पटक चढ्ने पर्वतारोहीहरू कुन-कुन देशका थिए ? आदिबारे यहाँ छोटोमा चर्चा गरिने छ। विश्वका ती आठ हजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिम चुचुराहरू एसिया महादेशको हिमालय पर्वतमालाको पश्चिम-पूर्व फैलिएको छ । त्यसमध्ये पनि हिमालयको एक तिहाइ भाग नेपालमा पर्छ, जुन कुरो हामी नेपालीहरूकालागी गर्व गर्न लायक हो। स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा देखि लिएर हालसम्मको आठ हजार मिटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मिटर भएको) सम्म रहेका छन्।

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८.८६ मिटर) हो भने, यो हिमालको आरोहण सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक भएको थियो । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम-२ (के-टु) हो । यो हिमालको उचाइ ८,६११ मिटर हो भने, यो हिमाल पाकिस्तानमा पर्छ। यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलो पटक सफलतापूर्वक चढेका थिए।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो। यो नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा रहेको छ । यसको उचाइ ८,५८६ मिटर हो । यो हिमाललाई बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले सन् १९५५ मे २५ का दिन पहिलो पटक चढेका थिए । विश्वको चौथो अग्लो हिमालचाहिँ ल्होत्से हो । यसको उचाइ ८,५१६ मिटर रहेको छ । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीटजरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलो पटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौँ अग्लो हिमाल मकालु हो । यसको उचाइ ८,४६३ मिटर रहेको छ भने सन् १९५५ मे १५ मा जिन कोजी, लियोनल टेरे, जिन फ्रान्सका, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु लगायतको एक जन्ती टोलीले नै चढेका थिए।

त्यस्तै विश्वको छैटौँ अग्लो हिमाल चो-ओयु हो । यसको उचाइ ८,२०१ मिटर रहेको छ भने, सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा (लामा) शेर्पाले पहिलो पटक सफलता पूर्वक आरोहण गरेका थिए ।

विश्वको सातौँ अग्लो हिमाल धौलागिरि हिमाल हो । यसको उचाइ ८,१६७ मिटर रहेको छ भने, सन् १९६० मे १३ का दिन स्वीटजरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्धय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो भने, यो हिमालको उचाइ ८,१६३ मिटर रहेको छ । मनास्लु हिमालको पहिलो सफल आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । एवम् रीतले विश्वको नवौँ अग्लो हिमाल नांगा पर्वत हो । यो हिमालको उचाइ ८,१२६ मिटर रहेको छ भने, यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलो पटक सफलता पूर्वक चढेका थिए ।

त्यस्तै विश्वको १० औँ अग्लो हिमाल अन्नपूर्ण-१ (प्रथम) हो । साथै पर्वतारोहणको इतिहासमा सफलता पूर्वक पहिलो पटक चुचुरोमा पुग्न सफल भएको हिमाल पनि यही नै हो । विश्वको १० औँ स्थानमा आउने हिमाल भए तापनि यो हिमालको आफ्नै प्रकारको महत्त्व रहेको छ । यो हिमाल नेपालको अन्नपूर्ण हिम शृङ्खलामा रहेको छ भने, यसको उचाइ ८,०९१ मिटर रहेको छ । सर्व प्रथम सफलता पूर्वक आरोहण फ्रान्सका पर्वतारोहीद्धय माउरिस हर्जोग र लुइस लाचेनलले गरेका हुन् । उनीहरूले सन् १९५० जुन ३ मा पहिलो पटक आरोहण गरेका थिए ।

एवम् प्रकारले विश्वको ११ औँ अग्लो हिमाल गासेरब्रुम-१ हो । यो हिमाल पनि पाकिस्तानमा रहेको छ । यसको उचाइ ८,०८१ मिटर रहेको छ भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्धय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक हो । यो हिमाल पनि पाकिस्तानमै रहेको छ भने यसको उचाइ ८,०५१ मिटर हो । यस हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो वेला अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३ औँ अग्लो हिमालचाहिँ गासेरब्रुम-२ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाइ ८,०३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हाँस विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए । विश्वको १४ औँ र, हालसम्मको आठ हजार मिटरको अन्तिम अग्लो हिमाल हो ‘सिसापाङमा ।’ यो हिमालको उचाइ ८,०२७ मिटर रहेको छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमामा रहेको छ ।

नाप जाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ भन्ने भनाइ रहेको छ । साथै यो हिमालको नेपाली (खस/पर्वते) भाषामा रहेको नाम गोसाईंनाथ हो । तर, चीन सरकारले आफ्नो देशमा विश्वको अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि (पानी-ढलोको आधारमा विश्वकै अग्लो हिमाल चोमोलुङमा अर्थात् सगरमाथा नेपालमा पर्छ/परेको हो । भलै सुरुमा दुवै देश (चीन-नेपाल) ले आ-आफ्नो भनी दाबी छाडेका थिएनन् । विश्वकै अग्लो हिमाल नेपालमा परेपछि ‘सिसापाङमा’ चीनमा पर्ने गरी राजनीतिक रूपमा कुराकानी गरेर सहमति भएको मानिन्छ । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरूको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए।

ninam-kulung-mangale