धरान : धरानका कलाकर्मीहरूले कोभिड-१९ महामारीले लामो समयदेखि भएको लकडाउनका कारण कलाक्षेत्र धराशायी बनेको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर निर्बाध रूपमा कला क्षेत्रका गतिविधि सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्।

शनिवार धरानमा आयोजित कलाकर्मीहरूको एक भेलाले स्वास्थ्य मापदण्ड अपनाएर राजनीतिक दलका सभा, जुलुस, होटेल, व्यवसाय, यातायात लगायत अन्य क्षेत्र चलिरहँदा कला क्षेत्रलाई पनि पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिनुपर्ने सरकारसँग माग गरेका छन्।

नेपाल चलचित्र महासङ्घ १ नम्बर प्रदेशका अध्यक्ष अरुण प्रधानले राजनीतिक दलका सभा, जुलुस, बजार, यातायात सबैतिर भिडभाड छ तर कला क्षेत्रका गतिविधिलाई चाहिँ सरकारले बन्देज लगाएकोप्रति आपत्ति जनाउँदै अब निर्बाध रूपले सञ्चालन हुन दिनुपर्ने माग गरेका छन्।

कलाकार देशका गहना हुन भनेपनि राज्यले कलाकारलाई उपेक्षा गरेको प्रधानले बताए। कोभिड बिरुद्धको खोपका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा कुरा राखे पनि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट कलाकारका लागि खोप नछुट्याएको जवाफ आएको अध्यक्ष प्रधानले बताए।

कलाक्षेत्रमा लाग्ने सबै एकजुट भई एक अर्कालाई सम्मान गर्दै अघि बढेमा कुनै पनि काममा सफल भइने औजार राष्ट्रिय दैनिकका अध्यक्ष एवम् गायक मोतीराज सुनुवारले बताए। उनले भने, 'म पनि पछिल्लो समय कला क्षेत्रमा आएको छु, यस कार्यमा मेरो पूरा साथ सहयोग रहन्छ।'

नाट्यकर्मी विजय सुब्बाले अन्य व्यवसाय चलायमान भई रहँदा कलाकारिता क्षेत्रलाई ठप्प पार्न नहुने बताउँदै स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिए। ब्यबसायिक रूपमै कला क्षेत्रमा लागेकाहरूलाई लामो समय बन्द हुँदाखेरि फेरि शून्यबाट सुरु गर्नु पर्ने अवस्था आएको सुब्बाले बताए।

सुन्दर साउण्ड सर्भिस धरानका सञ्चालक सुन्दर श्रेष्ठले होटेल व्यवसाय निर्बाध रूपले चलिरहँदा कलाकारिता क्षेत्रका लागि नगरपालिकाले कुनै ध्यान नदिएको गुनासो गरे।उनले भने - 'कलाकारिता क्षेत्र सुचारु भयो भने मात्र साउण्ड सर्भिसको काम आउँछ, कलाकारिता क्षेत्र ठप्प हुँदा हामी पनि मारमा छौ।'

गरिमा डान्स सेन्टरका सञ्चालक मणि कुमार लिम्बुले विगत झन्डै २ वर्ष देखि लगातारको बन्दले कतिपय कलाकारहरू यश क्षेत्रबाट विस्थापित हुँदै गएकाले अब भने सञ्चालन हुने वातावरण बनाउन स्थानीय सरकारसँग माग गरे।

प्रज्ञा प्रतिष्ठान धरानका सदस्य एवम् वडा नम्बर १६ का वडा सदस्य सुरेश श्रेष्ठले सबै कलाकार एक जुट भएर स्थानीय सरकारलाई घचघच्याएको खण्डमा स्वास्थ्य मापदण्ड अपनाएर निर्बाध रूपले कार्यक्रम गर्नको लागि वातावरण बन्ने बताए। मिस स्टेट-१ कि कोरियोग्राफर एवम् मोडल मेरिना तुम्साले सबै जना एकजुट भएर स्थानीय सरकारलाई कार्यक्रम गर्ने वातावरण सिर्जना गर्न दबाब दिनुपर्ने बताइन।

राजनीतिक दलले हजारौँको सङ्ख्यामा र्‍याली, जुलुस गरिरहँदा मौन हुने सरकार कलाकारहरूलाई भने कार्यक्रम गर्न नदिएको पुर्वान्चल बागिना कला केन्द्र धरानका अध्यक्ष एवम् पुर्वान्चल सिङ्गिङ स्टार, मिस स्टेट-१ का आयोजक भक्तिराज राईले बताए।नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गर्न पाउनु पर्ने अध्यक्ष राईको माग छ।

आगामी मङ्गलवार कलाकारहरूको टोलीले धरान उपमहानगरपालिका का मेयर तिलक राईलाई कला क्षेत्रका गतिविधि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर गर्न पाउनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाउने भेलाले निर्णय गरेको युनाइटेड मल्टी आर्ट्सका सञ्चालक सन्तोष तामाङले जानकारी दिए। ज्ञापन पत्र बुझाए पछि पनि कलाकारका माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने नृत्य एवम् म्युजिक भिडियो निर्देशक नगेन्द्र राईले चेतावनी दिए।

भेलामा शिक्षक एवम् गायक ओम रिमाल, अलङ्कार म्युजिक एकेडेमीका सञ्चालक विनोद प्रियदर्शी राई, सङ्गीत प्रशिक्षक विनायक राई लगायतको उपस्थिति थियो।

kalakarmi-news-2