झापा : प्रदेश नम्बर १ का उद्योगी व्यवसायीहरूले पूर्वी काँकडभिट्टा नाकालाई सहज बनाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको उद्योगी व्यवसायीहरूको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा काँकडभिट्टाबाट नेपाल आउन चाहने भारतीय व्यवसायी, पर्यटक, कामदार, बिरामीलाई पीसीआर रिपोर्ट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाइदिन माग गरिएको छ।
मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले कोरोनाका कारण लामो समयदेखि लकडाउनले बन्द भएको नाकाका कारण नेपाली आर्थिक क्षेत्रले ठुलो नोक्सानी खेप्दै आएको भन्दै उद्योगी व्यवसायीले कोरोनासँगै दैनिकीलाई पनि सहजतातर्फ अग्रसर गराउन अघि बढ्नुपर्ने बताए।
यसैबिच झापाका उद्योगी व्यवसायीका सङ्घसंस्थाहरूले उद्योगी व्यवसायीहरूका लागि कोभिड-१९ विरुद्धको १० हजार खोपसमेत माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले उद्योगी व्यवसायीका मागसहितको ज्ञापन पत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाउने आश्वासन दिएको मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताए।


































































