धरान : ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई सहभागिता गराउने भएको छ ।

मेयर तिलक राईको सभापतित्वमा शनिवार भएको छलफलले आगामी कार्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिमलाई सहभागिता गराइने निर्णय गरेको हो ।

छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरी इक्छुक महिला खेलाडीहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ । साथै, धरानका विभिन्न वडामा उपलब्ध खेलाडीहरू तथा धरान महिला फुटबल क्लबका खेलाडीहरूलाई फुटबल उपलब्ध गराई तत्काल अभ्यास सञ्चालन गर्ने÷गराउने निर्णय गरेको छ ।

छलफल पश्चात् मेयर राईले महिला खेलाडीहरूलाई चार थान फुटबल हस्तान्तरण गरे । महिला खेलाडीहरूलाई अनुशासित भएर, लगनशील भएर फुटबल अभ्यास गर्न मेयर राईले आग्रह गरे ।

महिला फुटबल टिमलाई उजागर गर्नका लागि धरान उपमहानगरपालिकाको साथ सहयोग रहने पनि मेयर राईले प्रतिबद्धता व्यक्त गरे । छलफलमा धरान महिला फुटबल टिमका प्रशिक्षक भगवती राना मगरले महिला फुटबल खेललाई विकास गर्नका स्थानीय सरकारको मुख्य भूमिका हुनुपर्ने बताइन् ।

प्रशिक्षक राना मगरले अहिले अधिकांश महिला खेलाडीहरूको परीक्षा सञ्चालन हुन गइरहेको कारण विगतमा जस्तो धेरै समय फुटबल अभ्यास नहुने जानकारी दिइन् ।

उनले समय मिलाएर फुटबल अभ्यास गराउने बताइन् । छलफलमा धरान महिला फुटबल क्लबकी क्याप्टेन सुस्मिता राईले फुटबल खेल्न घरपरिवारले नै प्रोत्साहित गरेको बताइन् ।