धरान : ८० दिन देखि निरन्तर आन्दोलन गरी रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीले बिहीबार पत्रकार सम्मेलन गरी आइतबार देखि प्रतिष्ठानमा सेवा बहिस्कार गर्ने निर्णय गरेको प्रति मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले आपत्ति जनाएको छ ।

'प्रतिष्ठान सञ्चालनको आफ्नै विधि, नीति, ऐन कानुन भएको तर समस्याको वस्तुगत समाधान खोज्नु पर्नेमा स्वार्थमा लिप्त भई अन्य कसैको उक्साहटको भरमा स्वास्थ्य जस्तो संवेदनशील संस्थामा सेवा सुविधा अवरुद्ध हुने गरी सिङ्गो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र देशकै गरिमालाई अन्तराष्ट्रियस्तरमै आँच पुग्ने गरी अन्य पक्ष सँग कुनै पनि छलफल नगरी मनोमानी ढङ्गले अराजक शैलीमा गरिएको आन्दोलनको घोर भर्त्सना गर्दछौ' विज्ञप्तिमा भनिएको छ ।

'पदाधिकारीहरूको राजीनामा वा कारबाहीको सन्दर्भमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो सम्मानित संस्थाको प्रतिवेदनको निर्णयको सम्मान गर्दै गुण र दोषको आधारमा निणर्यहरु गरी समस्या समाधानको पहल गर्नु पर्नेमा यसको विपरित स्वास्थ्य क्षेत्रलाई आतङ्कित बनाउने, जनताहरूको स्वास्थ्य सेवा माथि गम्भीर खेलबाड गर्ने कसैलाई छुट नभएको हाम्रो पार्टीको ठम्याई छ' विज्ञप्तिमा भनिएको छ ।

मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले आफ्नो विज्ञप्तिमा ६ बुँदे ध्यानाकर्षण समेत उल्लेख गरेको छ ।
२०७८ भदौ २० गते आइतबार देखी इमरजेन्सी र कोभिड अस्पतालको सेवा बाहेक ओ.पी.डी. लगायत अन्य स्वास्थ्य सेवाहरू अनिश्चितकालका लागी बन्द गर्ने निकृष्ट कार्यतालिका तत्काल फिर्ता लिइ स्वास्थ्य सेवा सुविधालाई निरन्तरता दिइनुपर्ने, प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा लगाइएका अनिश्चितकालिन तालाबन्दी तत्काल खुलाइनु पर्ने, प्रतिष्ठानका पदाधिकारीहरूको सवारी साधनहरुको चाबी विना सर्त फिर्ता गरियोस्, प्रतिष्ठान भित्र गरिएको शुद्धीकरण आन्दोलनका संयोजक डा. एस.पी. रिमाल को नेतृत्वमा गरिएको अवैज्ञानिक,अलोकतान्त्रिक अस्वस्थ आन्दोलन तत्काल स्थगन गरिनु पर्ने, नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनको उचित निर्णयको कदर गर्दै दोषी उपर अविलम्ब कानुनी कारबाही गरी स्वस्थ आन्दोलनरत पक्षको सम्बोधन गरियोस्- विज्ञप्तिमा भनिएको छ ।

मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालका धरान नगर अध्यक्ष सन्जुहाङ साँवा लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिष्ठानको गरिमा, प्रतिष्ठान भित्रको अस्वस्थ प्रतिस्पर्धा र स्वास्थ्य क्षेत्रको विश्वसनीयतालाई प्रभावकारी बनाउन माग गरेको छ ।

अन्यथा जस्तोसुकै कदम चाल्न बाध्य हुने र सम्भावित र्दुघटनाहरुको सम्पूर्ण जिम्मेवार शुद्धीकरण आन्दोलनका संयोजकले लिनु पर्ने पनि प्रेस विज्ञप्ति मार्फत लिम्बुवानले चेतावनी दिएको छ।

Limbuwan-Bigyapti