धरान : मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ धराने गायक ज्ञान सुब्बाको गीतको छायाङ्कन भइरहेको थियो ।

वेटर र ग्राहकको रूपमा कलाकारहरू अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले उक्त म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए ।

उनले भने “मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु । दर्शकलाई नयाँ लाग्न सक्छ ।“ धरान र चतराको विभिन्न स्थानमा दुई दिन लगाएर उक्त म्युजिक भिडियोको छायाङ्कन गरिएको छ । आखिर के को लागि होला ? बोलको उक्त म्युजिक भिडियोमा लोकप्रिय अभिनेता प्रेम सुब्बालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा बादल श्रेष्ठ, र नव कलाकारहरू रबिना केसी र इसिता राईको अभिनय रहेको छ । उक्त गीतमा शब्द रबिन खावाहाङ राईको रहेको छ भने सङ्गीत डा. शरद सिन्हाको रहेको छ ।

सिल्भर इन्टरटेनमेन्ट्को प्रस्तुति रहेको भिडियोमा क्यामेराम्यान भूपेन्द्र तुम्बाहाम्फे, ड्रोन अपरेटरमा सुमन तामाङ र मेकअप आर्टिस्ट लोकेस थापा रहेका छन् । भिडियो बुवाको मुख हेर्ने दिनमा रिलिज गरिने निर्देशक भीषण राईले बताए ।

Music-Video-1