धरान : सङ्खुवासभाको मादी नगरपालिका-१ उमलिङको खोलागाउँमा एकै घर परिवारको छ जनाको बीभत्स हत्या भएको घटना स्थलमा विषेश कुकुर सहित संघिय प्रहरी इकाई कार्यालय धरानबाट विशेष प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

सोमबार साँझ पुगेको सो टोलीले अनुसन्धान सुरु गरेको एसपी भीम बहादुर दाहालले बताए । घटनाको अवस्था हेर्दा राति हत्या नगरी सोमबार बिहान खेदी खेदी हत्या गरेको जस्तो अवस्था देखिएको प्रहरीले बताएको छ ।

मृतकको अवस्था हेर्दा खर बारीमा केही वर र केही पर शवहरू भेटिनु र मृतकले गमबुट लगाएकोले रातिको घटना नभई बिहान भएको हुन सक्ने प्रहरीले बताएको छ ।

Madi-2

मृतकको शव कुकुर सहित पुगेको विशेष प्रहरी टोलीले गम्भीर अनुसन्धान गरेपछि मात्रै उठाइने एसपी दाहालले बताए ।

हत्या प्रकरणको अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको हो ।

घटनास्थल विकट ठाउँमा भएकाले विशेष प्रहरी टोली ढिलो मात्रै पुगेको हो । सङ्खुवासभाको चैनपुरबाट घटना स्थल ५५ किलोमिटर टाढा पर्दछ ।

सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशल छन् ।

Madi-3

बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।

पार्वतीको शव घरभित्र भेटिएको छ । तेजबहादुरको शव घरदेखि करिब एक सय मिटर टाढा सडकमा भेटिएको छ । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सामा भेटिएको छ । दीपेन र गोमाको शव घरदेखि माथि खर बारीमा भेटिएको छ ।

सोमबार साँझ रात परेपछि मात्रै धरानबाट कुकुर सहित एसपी भीमबहादुर दाहालको नेतृत्वमा गएको ५ जनाको विशेष प्रहरी टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको भए पनि पानी परिरहेकोले घटनाको अनुसन्धानमा समस्या भएको छ ।

घटना घटेको प्रहरीलाई जानकारी प्राप्त भए देखि ससङ्खुवासभाका मुख्य नाकाहरूमा प्रहरी निगरानी बढाइएको सङ्खुवासभा प्रहरीले जनाएको छ ।

Madi-4