धरान : सङ्खुवासभाको मादी नगरपालिका-१ उमलिङको खोलागाउँमा एकै घर परिवारको ६ जनाको हत्या भएको घटनाको तालिम प्राप्त कुकुर सहितको विशेष अनुसन्धान पछि अहिले प्रहरी मुचुल्का पछि शव उठाइँदैछ ।

हिजो विहान एकै परिवारका ६ जनाको हत्या भएको खबर सार्वजनिक भएपछि सङ्घीय इकाई प्रहरी कार्यालय धरानबाट अपराध अनुसन्धानमा अब्बल एसपी भीमबहादुर दाहालको नेतृत्वमा दुई वटा तालिम प्राप्त लैला र पिकु नामक कुकुर सहित पुगेको प्रहरी टोलीले हिजो बेलुका देखि गहन अनुसन्धान सुरु गरेको थियो ।

हिजो देखिको अनुसन्धान पछि अहिले बिहान घटनाको दोषी नजिक अनुसन्धान पुगेको घटना स्थलबाट एसपी भीमबहादुर दाहालले कपुरी न्युजलाई बताए । ठुलो दायराबाट प्रहरीले अनुसन्धान थालेकोले अनुसन्धान सकारात्मक उन्मुख हुँदै गएको उनले बताए । घटनाको थप अनुसन्धान गर्न सिआईबीको टोली पनि आउने बताइएको छ ।

राती परेको पानीसँगै गरिएको अनुसन्धान पछि घटना स्थल वरपर छरिएका शवहरू मुचुल्का पछि उठाइँदै गरेको पनि प्रहरीले जनाएको छ । सबै मृतकको शव धरान पोस्टमार्टमका लागि ल्याउने तयारी भएको छ ।
एकै परिवारका ६ जनाको हत्याले सिङ्गो गाउँ अहिले त्रसित छ ।

सोमबार सङ्खुवासभाको मादी नगरपालिका-१ खोलागाउँका बौद्धमान कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या भएको थियो । सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको थियो ।

घटना रहस्यमय भएको प्रहरीले बताउँदै आएको छ। बौद्धमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै अवस्थामा मृत भेटिएका थिए । सोही घरमा रहेका ८५ वर्षीय बौद्धमान भने सकुशल छन् । उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन् । बौद्धमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छिन् ।

तेजबहादुरकी ५२ वर्षीया पत्नी कमला र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव घर नजिकैको खोल्सामा भेटिएको थियो । ११ वर्षीय नाति दिपेन र ७ वर्षीया नातिनी गोमाको शव घरमाथिको खरबारीमा भेटिएको थियो । मृतक सबैका शव घरबाट सय मिटरको आसपासमा भेटिएका थिए ।

काम गर्न जाँदा लगाउने लुगा लगाएको र गम्बुट, चप्पल सहित भएकाले उनीहरूको हत्या बिहान वा बेलुकीको समयमा भएको हुन सक्ने र गम्बुट र चप्पल लगाएकाले भाग्दाभाग्दै उनीहरूको हत्या भएको प्रहरीको अनुमान छ ।

‘कृषि पेसामा आबद्ध सामान्य आर्थिक अवस्था भएको परिवारको हत्या किन गरियो भन्ने आङ्कलन प्रहरीले अझै गर्न सकिरहेको छैन । सकुशल भेटिएका ८५ वर्षीय बौद्धमान आइतबार साँझ खाना खाएर सुतेका थिए ।

बिहान उठेर हेर्दा कोही नदेखे पछि खोजी गर्ने क्रममा बौद्धमानले सबैभन्दा पहिले श्रीमतीलाई मृत भेटे । त्यसपछि उनले छिमेकीलाई खबर गरेका थिए । छिमेकीले प्रहरीलाई खबर गरेपछि बिहान ११ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो । घरबाट ५ मिनेट टाढा छिमेकी रहे पनि बिहान मात्र घटनाका बारेमा जानकारी पाए ।
वृद्धकी श्रीमती पार्वता कार्कीको शव घरैभित्र भेटिएको थियो । परिवारका अन्य ५ जनाको शव भने यत्रतत्र छरिएको प्रहरीले जनाएको छ । घटना रहस्यमय भएकाले थप अनुसन्धान गर्न सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको टोली घटनास्थल हिजो साँझ पुगेको थियो । प्रहरी भन्छ ‘घटना हेर्दा भाग्ने क्रममा हत्या गरेको जस्तो देखिन्छ ।’

तेजबहादुरका दुई छोराहरू वैदेशिक रोजगारीमा छन्। जेठो छोरा रमेश र नरेश दुवै मलेसिया छन् । रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ । नरेशकी श्रीमती मुना भने झापामा बस्छिन् ।

छिमेकीका अनुसार झापामा जग्गाको बैना गरेर बौद्धमानको परिवार जग्गा पास गर्न जाने तयारीमा थियो । जग्गा पास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने आशङ्कामा उनीहरूको हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ । तीजपछि उनीहरू तराईमा जग्गा पास गर्न जाने तयारीमा रहेको मृतकका आफन्तले बताए ।