धरान : सङ्खुवासभाको मादी नगरपालिका-१ उमलिङको खोलागाउँमा एकै घर परिवारको सामूहिक बीभत्स हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली सङ्खुवासभा आइपुगेको छ ।

घटनाको अनुसन्धानका लागि सिआइबीको (पिलर) वानका डिएसपी रुकमबहादुर कुँवरको कमान्डमा ५ जनाको टोली घटनास्थलतर्फ टुमलिङटारबाट घटनास्थल मादी हिँडेको प्रदेश १ प्रहरीका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।

सिआइबीबाट आएका डिएसपी कुँवर अपराध अनुसन्धानमा नेपालकै उत्कृष्ट प्रहरी अधिकृत मध्ये एक हुन् । कुँवर भक्तपुरका बालक निशान खड्काको अपहरण र हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङको २०७५ सालको साउन २० गते इन्काउन्टर गर्ने प्रहरी कमान्डर हुन् ।

घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि धरान पठाइएको प्रदेश सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट कुकुर सहित अनुसन्धानका लागि पुगेका एसपी भीमबहादुर दाहालले बताए ।

घटना स्थलमा हत्याको गम्भिररुपमा अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको रिट टोली, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोली अपराधीलाई पक्राउ नगरुन्जेल सम्म घटनास्थलमा अनुसन्धान जारी राख्ने एसपी दाहालले बताए ।

मृतकहरूमा ग्राउन्ड इन्जुरी देखिएकोले के कारणले परिवारै सखाप हुने गरी हत्या गरियो भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ। अनुसन्धान सुधारोन्मुख र उपलब्धिमूलक भइरहेकोले हत्यारालाई चाडैनै पक्राउ गर्ने पनि एसपी दाहालले दाबी गरेका छन् । 'अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएका छैनौँ' उनले भने।

एसपी दाहालले भने 'अहिले सम्म जे जति प्रगति भएको छ, हामी अपराधीको नजिक पुगेका छौँ ।अहिलेसम्मको अनुसन्धान जिरोमा मात्रै रुमल्लिएको छैन।'

सङ्खुवासभाको  मादी  नगरपालिका-१ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो।