धरान : सङ्खुवासभाको मादी नगरपालिका-१ उमलिङको खोलागाउँमा सोमबार एकै परिवारका ६ जनाको हत्यामा मृतकलाई धारिलो हतियार प्रयोग नभएको तर मृतक सबैमा 'ब्लन्ट फोर्स इन्जुरी' भएको अनुसन्धानमा रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार हत्यामा कुनै धारिलो हतियार प्रयोग नभई चिर्पट, दाउरा वा काठको विड र कुनै गह्रुङ्गो खालको फलामको वस्तु प्रयोग भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

तर अहिले सम्मको अनुसन्धानमा घटनास्थलमा त्यस्ता बस्तु प्रहरीले फेला पार्न नसकेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले बताए ।

मृतकहरूको शवको प्रकृति हेर्दा लखेटेर मारेको जस्तो देखिएको र त्यहाँ कुनै धारिलो हतियार प्रयोग भन्दा पनी सबैको टाउकोमा हिर्काएर मारेको प्रहरीले बताएको छ । भोलि सम्ममा पोस्टमार्टम रिपोर्ट आउने र रिपोर्टले पनि हत्याराले के प्रयोग गरेर हत्या गरेको हो भनेर देखाउने प्रहरीले बताएको छ ।

घटनास्थलमा हत्याको गम्भिर रुपमा अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको रिट टोली, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोलीका करिब ३५ जना प्रहरी टोली अहिले घटनास्थलमा खटिएका छन् ।

अनुसन्धानको क्रममा प्रहरीले मृतकको घरमा लुटपाट नभएको बताएको छ। घर भित्र खान तलासी गर्दा ४ लाख ७१ हजार रुपैयाँ र केही सुनका गरगहना सुरक्षितरुपमा फेला परेकोले लुटपाटको कारण हत्या नभएको हुनसक्ने एसपी दाहालको भनाई छ ।

घटनास्थल विकट गाउँ भएकोले अनुसन्धान टोली पुग्न पनि समय लागेको र मौसमले पनि साथ दिएको छैन । हिजो देखि निरन्तर पानी परिरहेकोले अनुसन्धानमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको ठुलै अनुसन्धान टोली घटनास्थलमा परिचालन भएको भए पनि अहिले सम्म कसैलाई पनि पक्राउ गर्न भने सकेको छैन। तर अपराधी नजिक अनुसन्धान पुगेको प्रहरीको दाबी छ। अपराधीलाई पक्राउ नगरुन्जेल सम्म घटना स्थलमा अनुसन्धान जारी राख्ने एसपी दाहालले बताए ।

सङ्खुवासभाको मादी नगरपालिका-१ का तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो।

मृतकहरूको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ। पोस्टमार्टम भोलि सम्ममा भइसक्ने र पोस्टमार्टम रिपोर्टले थप अनुसन्धानलाई सहयोग गर्ने प्रहरीले बताएको छ ।

वि.सं.२०७६ सालमा परिवार नै सखाप हुने गरी पाँचथरको आरुबोटेमा सामूहिक हत्याकाण्ड भएको थियो । त्यसपछि सङ्खुवासभाको मादीको यो घटना ठुलो सामूहिक हत्याकाण्ड भएको प्रहरीले बताएको छ।