इटहरी : सङ्खुवासभाको मादी नगरपालिका खोलागाउँमा हत्या गरिएका ६ जनाको शव सुनसरीको इटहरी स्थित बुढी खोलामा बुधवार पोस्टमार्टम पछि सामूहिक दाहसंस्कार गरिएको छ ।

बुधवार साँझ इटहरीको बुढीखोलामा पुर्‍याएर परिवार र आफन्तको उपस्थितिमा अन्त्योष्टी गरिएको हो ।
सोमबार एकै परिवारका ६ जनाको सामूहिक हत्या गरिएको थियो ।

Dahasaskar

हत्या भएको एक दिन पछि मंगलबार दिउसो मात्रै प्रहरी अनुसन्धान पछि शव उठाएर पोस्टमार्टमको लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । घटनाको अनुसन्धानको लागी कुकुर र फोरेन्सीक ल्याबको टोली घटनास्थल पुगेको थियो ।

सोमबार देखि घटना स्थलमा सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा विशेष प्रहरी टोली सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको रिट टोली, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोली खटिएका छन् ।

भोलि बिहीबार सम्ममा पोस्टमार्टम रिपोर्ट आइसक्ने भएकोले त्यसपछि अनुसन्धानको दायरा थप फराकिलो हुने प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले जानकारी दिए । डिआइजी बिसी अनुसन्धानमा कुनै कमी नआओस् भन्नको लागी आफै घटनास्थल प्रस्थान गरेका छन् ।

Dahasaskar-2

कुकुरले पत्ता लगाउन सकेन अपराधी  :

सङ्घीय इकाई प्रहरी कार्यालयको तालिम प्राप्त कुकुर लैला र पिकु अहिले सम्मको आपराधिक घटनामा अपराधी पत्ता लगाउन सफल कुकुर मानिन्छन ।

Prahari-Kukur

तर यस पटक सङ्खुवासभाको सामूहिक हत्याकाण्डको 'क्लु' भने कुकुरले पत्ता लगाउन नसकेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ। घटना राति घटेको जस्तो देखिँदैन । सोमबार बिहान अर्थात् उज्यालो भएपछि भएको जस्तो देखिएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

मृतकहरूले चप्पल र जुत्ता लगाएको भेटिनुले अनुसन्धानमा प्रहरीले यस्तो अनुमान गरेको हो । घटना घटेको थाहा पाउने बित्तिकै घटनास्थल सुरक्षित राखिएको भए पनि कुकुरले अपराधी पत्ता लगाउन सकेन ।

कुकुरले अपराधी पत्ता लगाउन सुँघेर लगाउने भएकोले अपराधीको (डेथ सेल) मानिसको शरीरबाट निस्किने एक प्रकारको खरानी जस्तो पदार्थ पानीले बगाउँदा पनि कुकुरले घटनामा संलग्नलाई पत्ता लगाउन नसक्ने प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राई बताउँछन् ।

मृतक सबैको टाउकोमा चोट लागेको (ब्लन्ट फोर्स इन्जुरी) भएको पाइयो। लाठी, मुङ्ग्रो र फलामको रड जस्ता चिजको प्रयोग गरी हत्या गरेको हुन सक्ने एसपी राईको भनाई छ ।

प्रहरी अनुसन्धानलाई हेर्ने हो भने 'प्लान मर्डर'जस्तो नदेखिएको पनि प्रहरीले बताएको छ। तर यसै भन्न नसकिने अनुसन्धानमा रहेका प्रहरीले बताएका छन् ।

तीन दिन बितीसक्दा पनि प्रहरीले अहिले सम्म कसैलाई नियन्त्रणमा लिन सकेको छैन । तर पनि अनुसन्धानको क्रममा एउटा सङ्केत प्रहरीले फेला पारेको प्रहरी स्रोतले बताएको छ ।

त्यो सङ्केतसँग प्रहरीले सोधी खोजी गरी अनुसन्धान अघि बढाएको भए पनि सबुत प्रमाण भने फेला नपरेको बताइएको छ ।

सामूहिक हत्या पछि मादीबासीमा त्रास :

सोमबार सङ्खुवासभाको मादी नगरपालिका-१ उमलिङको खोलागाउ स्थित तेजबहादुर कार्की सहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

सामूहिक हत्याको घटना पछि मादीवासीमा अहिले त्रास फैलिएको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए । निकै लामो समय सम्म अपराधी पत्ता नलाग्नुले झन् समुदायमा त्रास फैलिएको उनले बताए।

उनका अनुसार सामूहिक हत्या गरिएका मृतक तेजबहादुर कार्कीका कान्छा छोरा नरेश कार्की दवाईबाट आइपुगे पछि सबैको सामूहिक दाहसंस्कार इटहरीमा गरिएको मेयर लिङथेपले बताए ।

Madi-Hateya