धरान : गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका १ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो । 

परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिन सम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगान सकेको थिएन ।

हत्यारा भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाई रहेको जस्तो भूमिका खेलेर प्रहरीहरूको समूहसँगै घुलमिल थिए । उनी थिए मृतक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की । शुक्रवार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरु देखिनै प्रहरीले शङ्काको घेरामा राखेको थियो ।

तर दह्रो सबुद फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन । अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर कार्की पक्राउ परे । उनलाई अहिले चैनपुर स्थित इलाका प्रहरी कार्यालय लगिँदै गरेको घटना घटेको दिन देखि घटना स्थलमा पुगेर अनुसन्धान गरी रहेका सङ्घीय इकाई प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए । 

एउटा परिवारको पुरै वंश सखाप हुने गरी भएको सामूहिक हत्याकाण्डले सबैको ध्यान तानेको थियो । यो क्रममा घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले सहजीकरण समेत गर्ने गर्दथे ।

घटना घटेको दिन मृतक तेजबहादुर कार्कीलाई पहिलो पटक उनैले देखेर हल्ला खल्ला गरेका थिए । अन्ततः तीनै लोकबहादुर कार्की सामूहिक हत्याकाण्डको दोषी बने । 

एसपी दाहालका अनुसार मृतक तेजबहादुर कार्कीका साइनोमा भतिजो हुन् । मृतकको घर देखि करिब १५० मिटरको दुरीमा हत्यारा कार्कीको घर पर्दछ । 

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरूलाई पनि मार्न बाध्य भएको भनेका छन् ।

कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

सङ्खुवासभाको  मादी  नगरपालिका–१ स्थित तेजबहादुर कार्की सहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा गत सोमबार बिहान शव फेला परेको थियो ।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो । 

पक्राउ परेका कार्कीलाई भोलि आइतबार चैनपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।

सामूहिक हत्याको अनुसन्धानमा सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा विशेष प्रहरी टोली, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रदेश प्रहरीको रिट टोली, सङ्खुवासभा प्रहरी र प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी पनि घटना स्थलमै अनुसन्धानमा खटेका थिए ।