फेरि पनि हेमकर्ण पौडेललाई नै भोट ? कति दिनु १० वर्ष भइसक्यो, अब फेरी ? अरूको पालो कहिले आउँछ ? यी र यस्तै प्रश्नहरूले इटहरीमा नेपाली काँग्रेसको १४ औँ अधिवेशन तातेको छ । आगामी असोज ९ गते तोकिएको नगर अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका वर्तमान सभापति हेमकर्ण पौडेलले यी प्रश्नहरूको जवाफ खेपिरहनु परेको छ । मतदाताहरूलाई आफ्नो उम्मेदवारी किन भनेर विश्वास दिलाई रहेका होलान् । यी प्रश्नहरूमै लुकेको छ उत्तर।

किन फेरी पनि हेमकर्णलाई नै भोट दिनुपर्छ ?

इटहरीमा कम्युनिस्ट किल्ला भत्काउन कुनै समय यस्तो थियो, जति वेला सुनसरीको इटहरी लगायतका क्षेत्रमा काँग्रेसीहरूको बाहुल्यता थियो । बिपीले पनि इटहरीमा बसेर बैठक छलफल गर्दथे । कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला जस्ता शीर्ष नेताहरूको आउजाउ बाक्लो हुन्थ्यो । त्यो देखेर यहाँका कम्युनिस्टहरू सिरिसे काँग्रेस भन्दै आलोचना गर्थे । उनीहरूको शिर झुकेको थियो । तर पछि काँग्रेस अन्तर्द्वन्द्व फस्दै गयो । स्थानीय नेताहरू कमजोर बने ।

समय बदलियो । काँग्रेस भन्दा कम्युनिस्ट दह्रा भए । लाल झण्डा गाडे । त्यति बेला गाडेको कम्युनिस्टको झण्डा अहिले सम्म हट्न सकेको छैन । तर काँग्रेस इटहरीमा सशक्त भएर आएको छ। जोस जाँगर, र ऊर्जावान् भएर काँग्रेस र काँग्रेसीहरू गुमेको साख फर्काउन लागि परेका छन् । गएको स्थानीय तहको निर्वाचनमा इटहरीमा मेयरमा पराजय भोग्नु परे पनि १२ जना वडा अध्यक्षलाई जिताउन सफल भयो । सुनसरीका अन्य निर्वाचन क्षेत्रमा काँग्रेसले चार तारे झण्डा गाड्दा इटहरीमा पराजित हुनुपर्‍यो । त्यो पीडाले सबैको मन पोलिरहेको छ । कम्युनिस्टको बोलवाला भएको इटहरीमा काँग्रेसले पुनरावृत्ति गरेको छ । यो १० वर्षको समयमा काँग्रेसले शिर ठाडो पारेर कम्युनिस्टसँग हाँक दिन सक्ने भएको छ । माथ खुवाउन सक्ने गरी पुनरावृत्ति गरेको छ । यसको पछाडि हेमकर्ण पौडेल सहितको टिमको मेहनत लुकेको छ ।

१० वर्ष अघि एउटा केटो नेपाली काँग्रेसको नगर सभापति हुन्छु भन्दा नेतृत्वमा बसेका नेताहरू गलल्ल हाँसे । कम्युनिस्टले घेरेको यो बेला यो केटोले के गर्छ भन्दै उपहास गरे । विश्वास गरेनन् । तर हेमकर्ण पौडेल र उनको टिमले गरेर देखायो । पहिलो र दोस्रो कार्यकाल हुँदै आज इटहरीमा काँग्रेसको उपस्थिति कस्तो अवस्थामा छ हामी आफै देख्न सक्छौँ । नेतृत्वमा लामो समय मात्र बस्यो भन्नु हेमकर्ण प्रति अन्याय हुन्छ । हेमकर्ण भन्छन् यो मेरो अन्तिम लडाई हो । यस पटक नगर सभापति भएँ भने आउने निर्वाचनमा इटहरीमा काँग्रेसलाई जिताउनेछु । काँग्रेसको गुमेको साख पुनः फर्काउनेछु ।

उनी भन्छन् मैले १० वर्ष गरेको मेहनतको फल आउने बेला भएको छ । गएको निर्वाचनमा एक धक्का लागेर ढलपल भएको कम्युनिस्ट किल्ला, आवश्यक ढल्नेछ । नेतृत्वकर्ता कुशल नेतृत्वकर्ता नै असल राजनेता बन्न सक्छ । नेतामा हुनुपर्ने पहिलो गुण नै नेतृत्व क्षमता हो । हेमकर्ण पौडेलमा त्यो गुण छ । छरिएर, कमजोर मनोबलमा बसीरहेका तमाम इटहरीका काँग्रेसी मनलाई समेट्दै आत्मबल भर्दै आजको दिन सम्म उनैले ल्याए । १० वर्ष अघिको काँग्रेस र अहिलेको काँग्रेसको उपस्थिति त्यसैको एउटा उदाहरण हो । कार्यकर्तालाई विश्वास दिलाउन सक्ने र आफ्नो प्रभावमा पार्दै सही दिशा दिन सक्ने क्षमता उनमा छ । चाँडै कार्यकर्ताको मन जित्न सक्ने खुबीले नै धेरैले उनलाई मन पराउँछन् । काँग्रेस वृत्तमा मात्र नभएर विपक्षी पाटीसँगै तमाम युवा वर्गमा उनको प्रभाव राम्रो छ । अर्को तर्फ नेता कार्यकर्ता परिचालन क्षमता पनि राम्रो छ ।

गएको निर्वाचनको समयमा उनले गरेको निर्वाचन परिचालनले पनि त्यो कुरा पुष्टि गर्छ । आफ्ना उम्मेदवार जिताउन उनको चुनावी परिचालन उनको अर्को क्षमता हो । सामाजिक छवि सहयोगी भावना भएका हेमकर्ण हरेक नगरवासीको सु:खदु:खमा साथ दिन पुग्छन् । अभाव र अप्ठ्यारोमा परेका नगर बासीलाई सहयोग गर्दै आएका छन् । राजनीतिक आस्था र दल भन्दा माथि उठेर उनले इटहरीमा सबै नगरबासीहरुलाई सहयोग गरेका छन् । आर्थिक, भौतिक जुनसुकै सहयोग उनले गर्दै आएका छन् । यही सहयोगी भावनाले उनको सामाजिक छविलाई उँचो बनाएको छ । हामीले भोगी रहेको कोरोना महामारीमा पनि उनको सहयोगी हातले नगर बासीलाई ठुलो राहत भयो । पहिलो लकडाउनको समयमा नगरवासीहरू भोकले छटपटाई रहेका बेला काँग्रेसले नै पहिलो पटक सहयोगको हात बढायो । काँग्रेसले १० हजार के.जी चामल सहित खाद्यान्न सहयोग गर्दै नागरिकको भोक मेटाउने काम गर्‍यो । काँग्रेसले सहयोगको हात बढाएपछि मात्रै उपमहानगरपालिकाले राहत वितरण सुरु गरेको थियो । यहाँबाट पनि हेमकर्णको नागरिक प्रतिको सेवा देखिन्छ ।

एक कुशल नेताको चयन गर्नुपनी हरेक मतदाताको दायित्व तथा कर्तव्य हो । आज हामीले छानेको सही नेतृत्वले नै भोलि हाम्रै लागि काम गर्ने हुन । हामीले नेता चयनमै गल्ती गर्‍यौ भने भोलि पुर्पुरोमा हात राखेर पछुताउनु बाहेक अर्को विकल्प हुँदैन । बैगुन रोपेर काउली फल्दैन । मिठो सुन्तला खान, सुन्तलाकै बिरुवा रोप्नुपर्छ कागती रोपेर सुन्तला फल्दैन । जोसले हैन होसले काम गरौँ । त्यसैले काँग्रेस क्षेत्रीय प्रतिनिधि मतदाताहरू आफ्नो परीक्षा राम्रैसँग दिनुहोला । पास र फेल तपाईँकै हातमा छ । पास भएर लड्डु खाने कि फेल भएर आलु । आफैले रोजौँ ।

यो लेखक /पाठकको निजी विचार हो ।