धरान : लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित सार्वजनिक भएको छ । विशिष्ट सङ्गीतकार आलोक श्रीको सङ्गीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन् ।

गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा व्यक्त गर्ने मनका भावना समेटिएको छ । प्रेमी प्रेमीकाले एकअर्काेलाई भेट्न आतुर रहेको कथामा भिडियो निर्माण भएको छ । जसमा अभिनेता दिलीप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दिलीप र गरिमालाई प्रेमी प्रेमीको रूपमा, रोमान्टिक अवतारमा उतारिएको छ ।

प्रेमीका भेट्न हिँडेका दिलीप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको भिडियो अभिनय सुहाउँदो छ । आलोक श्रीका सङ्गीतले मनमोहक बनेको गीतलाई भिडियोले सिँगार्ने काम गरेको छ ।

गुञ्जन इन्टटेनमेष्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, भरत रेग्मीको सम्पादन छ । भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् । भिडियो सङ्गीतकार आलोक श्रीको आफ्नै युट्युब च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ । गीत दर्शक तथा श्रोताले रुचाउनेमा आफू विश्वस्त रहेको सङ्गीतकार आलोक श्रीले बताए ।