इटहरी : सुनसरीको इटहरीमा पत्रकारको फुटबल प्रतियोगिता हुने भएको छ ।

विराट न्युज नेटवर्क प्रालीको आयोजनामा असोज २२ देखी प्रथम विराट मिडिया कप सुरु हुने भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ विराट टेलिभिजनले असोज २२ देखी २६ गतेसम्म ‘प्रथम विराट मिडिया कप २०७८’ आयोजना गर्ने तयारी गरेको छ ।

प्रदेश १ मा सञ्चालित विभिन्न मिडिया हाउसहरूले सहभागिता जनाउने सो प्रतियोगिता प्रदेशकै पहिलो दाबी गरिएको छ ।

पत्रकार सम्मेलन गरी प्रालीले सञ्चार गृहहरू बिचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिइएको हो । विजया दशमी तथा तिहारको शुभकामना आदान प्रदान हुने अवसरको लागि मिडिया कप आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।

प्रतियोगिताका संयोजक मनोज भुजेलका अनुसार विजेतालाई ३० हजार र उपबिजेतालाई १५ हजार, नगद सहित ट्रफी र मेडलको व्यवस्था मिलाइएको छ ।

म्यान अफ दी म्याच (प्रति खेल) नगद १ हजार र वेस्ट गोल किपरलाई ३ हजार नगद प्रदान गरिने उनले बताए । २ हजार रुपैयाँ प्रवेश शुल्क राखिएको खेलमा खेलाडीहरूको आधिकारिक मिडिया परिचयपत्र अनिवार्य गरिएको छ ।

मिडिया हाउस बाहेक गैर व्यावसायिक खेलाडी खेलाउन सख्त मनाही गरिएको उनले बताएका छन् । खेलाडीले आफ्नो मिडिया आबद्ध लोगोसहितको जर्सी अनिवार्य लगाउनु पर्ने नियम राखिएको उनले सुनाए ।