धरान : डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौं अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको फाइनलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरी प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनलमा प्रभातले हिमालयन मेघा एकाडेमी, धरानलाई रोमाञ्चक प्रतिस्पर्धामा ४७–४६ अङ्कले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको चार क्वाटरमा प्रभातले १५–१०, ४–१५, २०–१३ र ८–८ अङ्क जोडेको थियो। प्रभातका नेमसाङ मगर ुम्यान अफ द म्याचु घोषित भए।
दोस्रो सेमिफाइनलमा पाराडाइज बोर्डिङ स्कुल, इटहरीले हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीलाई ३९–२८ अङ्कले हराउँदै फाइनल यात्रा तय गर्यो। पाराडाइजले क्रमशः १५–४, ५–७, ५–९ र ९–८ अङ्क जोडेको थियो। पाराडाइजका प्रिन्स खत्री ुम्यान अफ द म्याचु घोषित भए।अब उपाधिका लागि प्रभात र पाराडाइजबीच मंगलबार निर्णायक प्रतिस्पर्धा हुनेछ। पाराडाइज यस प्रतियोगिताको चौथो संस्करणको उपविजेता टोली पनि हो।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको छ। विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना गरिएको हो। विद्यालयको नेतृत्व गरिरहेकै क्रममा कोरोना महामारीका कारण २०७८ साल साउन १५ गते उनको निधन भएको थियो।







































































