विराटनगर : मोरङको धनपालथान-४ कर्सिया बजारमा शाखा रहेको सिटिजन्स बैङ्क लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर-८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा-५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गोराहा-४ का ३० वर्षीय विजय सहनी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

डिएसपी श्रेष्ठका अनुसार बैङ्क लुटेर को २५ प ३८९९ नम्बरको मोटरसाईलमा भाग्ने क्रममा तीनै जनालाई धनपालथान-२ खयरवनाबाट हतियार सहित नियन्त्रणमा लिइएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न अन्य ६ जना रहेको देखिएकाले खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेकाहरूको साथबाट को २५ प ३८९९ नम्बर मोटरसाइकल, लुटपाटमा संलग्न सुनिल यादवले प्रयोग गरेको (१ राउन्ड लोडेड गोली सहित) १ थान कटुवा पेस्तोल, घटनास्थलमा पेस्तोलको नपड्किएको राउन्ड १ थान, खोका १ थान, घाइते गार्ड शीतल कुमालको शरिरबाट निकालिएको गोली १ थान रहेको छ ।

गत सोमबार पौने ४ बजेतिर ७ जनाको अपरिचित समूह बैङ्क भित्र पस्ने क्रममा बैङ्कका गार्ड मोरङ रङेली २ का ४० वर्षीय कुमाललाई २ जना व्यक्तिले गार्डसँग भएको खुकुरी खोसी गोली प्रहार गरेका थिए । दाहिने पातामा गोली लागेर घाइते भएका कुमालको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बैङ्कले २१ लाख भन्दा बढी रकम लुटिएको बताएको छ । बैङ्कले सोमबार राति २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको एसपी जर्नादन जिसीले बताए ।

Pestol-Karsiya