इटहरी : नेकपा एमालेको १० औँ महाधिवेशन प्रतिनिधिको लागी निर्वाचन कार्यतालीका सार्वजनिक भएको छ। एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले सर्कुलर जारी गर्दै महाधिवेशन प्रतिनिधिको निर्वाचन कार्यतालीका सार्वजनिक गरेका हुन् ।

कार्तिक २७ गतेकालागी तोकिएको निर्वाचनका लागी उम्मेदवार तथा मतदाताको लागी नियम सहितको कार्य तालीका निकालिएको छ। अध्यक्ष भण्डारीद्वारा जारी सर्कुलरमा महाधिवेशन प्रतिनिधिको लागि २७ गते ८ देखी ३ बजेसम्म मतदान हुने भएको हो ।

विधानको धारा ६३ बमोजिम दलित, श्रमिक, अल्पसङ्ख्यक, आदिवासी जनजाति र अपाङ्गता भएका, महिला उम्मेदवारको हकमा पार्टी सदस्य भएको ७ वर्ष कायम गरिएको छ। अन्य उम्मेदवारको हकमा पार्टी सदस्यता लिएको १० वर्ष पुरा गरेको हुनुपर्ने व्यवस्था लागु गरिएको छ । निर्वाचन प्रक्रियामा सहभागी मतदाताले नागरिकताको प्रमाणपत्र वा पूरा परिचय खुल्ने कागजात लिएर जानुपर्ने भएको छ।

२२ गते दिनको १२ बजे सम्म नवीकरण गरिसकेका सदस्यहरूको नाम र शुल्क पार्टी जिल्ला कार्यालय, इनरुवामा बुझाउन अनुरोध गरिएको छ । नवीकृत सदस्यले समेत प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन पाउने साथै पार्टी जिल्ला कार्यालयको अभिलेखमा नाम दर्ज नभएका सदस्यले भाग लिन नपाउने भएका छन् ।

कार्तिक २३ गते दिनको १ बजे नवीकृत सदस्यहरूको नाम मतदाता नामावलीको रूपमा जिल्ला पार्टी कार्यालय, इनरुवामा प्रकाशित गरिने उल्लेख गरिएको छ । प्रकाशित नामावली माथिको दाबी र विरोध गर्न २३ गते बेलुका ५ बजेसम्मको समय छुट्ट्याएको छ ।

कार्तिक २४ गते बिहान ११ बजेसम्म अन्तिम नामावली जिल्ला पार्टी कार्यालय,इनरुवामा प्रकाशित गरिने कार्यतालीकामा उल्लेख छ । सोही दिन १२ बजेदेखि ५ बजेसम्म महाधिवेशन प्रतिनिधि उम्मेदवारी दर्ता जिल्ला पार्टी कार्यालय इनरुवामा गरिने भएको छ ।

दलित र महिला उम्मेदवारले सय रुपैयाँ र अन्यले दुई सय बुझाएर उम्मेदवारी दिन सक्ने भएका छन् । मतदान केन्द्रको विषयमा २४ गते जिल्ला पार्टी कार्यालयबाट जानकारी गराइने अध्यक्ष भण्डारीले बताए । दाबी विरोधको लागि २५ गते १२ बजेसम्म र उम्मेदवारी फिर्ता साँझ ५ बजेसम्म को समय सीमा तोकिएको छ ।

सोही दिन बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी थालिएको जिल्ला अध्यक्ष भण्डारीको भनाई छ । सोही अनुसार २७ गते ८ बजे देखी मतदान हुने उनले जानकारी दिए ।

circulari-rewati