धरान : लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिभिजन रियालिटी शोको घोषणा भएको छ ।

शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोको नाम 'शिखर टिकटक स्टार नेपाल रियालिटी सो २०७८' राखिएको छ । अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने सो को राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

नेपाली फिल्म क्षेत्रकी चर्चित कलाकारहरू गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा सिवाकोटी शोको निर्णायकका रूपमा रहेका छन् । प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर उपहार सँगै टप १० भित्र पर्ने प्रतिस्पर्धीहरूलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोबाइल, घडी लगायतका उपहार दिने शोका निर्देशक हरि शर्माले बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ “किसान”को प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा कलाकारहरूलाई समेत शिखर सम्मान प्रदान गरिएको छ । सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दीप अर्याल, साहित्यकार भीष्मराज फुलारा तथा सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्य “शिखर सम्मान २०७८” द्वारा सम्मानित भएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एकीकृत समाजवादीका सांसद रहेका श्रेष्ठलाई समेत शिखर नेपाल प्रा.लि.ले बधाई तथा सम्मान प्रदान गरेका छ । उक्त समारोहका बोल्दै मन्त्री श्रेष्ठले डिजिटल माध्यमलाई आत्मसाथ गर्दै आयोजना हुन लागेको “शिखर टिकटक स्टार नेपाल रियालिटी सो २०७८” टेलिभिजन सो निकै अर्थपूर्ण रहेको बताए ।

टिकटकका माध्यमबाट समाजमा नकारात्मकता कुराहरू मात्रै बढी प्रवाह भैईरहेको भन्ने खालका तिता टिप्पणीलाई “शिखर टिकटक स्टार नेपाल रियालिटी सो २०७८” तोड्ने विश्वास रहेको बताए ।

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउन्न सकिन्छ भन्ने उदेशयका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले सुनाए। नाईस टेलिभिजन एचडीबाट प्रसारणमा आउने शोमा टेक प्रसाद बास्तोला निर्माताका रूपमा रहेका छन् ।

गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेन्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाइन अडिसनको समय मङ्सिर मसान्त सम्म आव्हान गरिएको छ ।