धरान : आज देखि देशव्यापीरुपमा १२ वर्ष उमेर समूह देखि माथिका जटिल तथा दीर्घ रोगीहरूलाई कोरोना विरुद्धको फाइजर खोप लगाइदैछ ।

प्रदेश १ को ३ वटा ठुला अस्पताल प्रादेशिक मेची अस्पताल, कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट यो खोप लगाउन पाइने प्रदेश १ स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँले जानकारी दिए ।

कोभिड-१९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर देखि माथिका व्यक्तिहरूलाई “फाइजर खोप“ को २ मात्रा आज देखि मङ्सिर ४ गते सम्म लगाईदैछ । त्यसै गरी दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गते सम्म लगाइने बताइएको छ ।

कोभ्याक्स अन्तर्गत अनुदान आएको सो खोप देशभरका २४ वटा ठुला अस्पतालबाट फाइजर खोप लगाईदैछ । प्रदेश १ को तीन अस्पतालबाट ६ देखि ७ हजार जनालाई यो खोप लगाइने बताइएको छ ।

खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य लिएर जानुपर्ने हुन्छ । फाइजर खोप मुटुको शल्यक्रिया गराएका वा औषधी सेवन गरिरहेकाहरू, मिर्गौला फेरेका डायलाइसिस गराइरहेका वा औषधी सेवन गरिरहेकाहरू, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेकाहरू, फोक्सो सम्बन्धी रोगको औषधी सेवन गरिरहेकाहरू, अङ्ग प्रत्यारोपण गरेकाहरू, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेकाहरू, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाकाहरु र मस्तिष्क र मस्तिष्कका रक्त नली सम्बन्धी रोग भएकाहरूले लगाउन हुने बताइएको छ ।