धरान : ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ ।

७५ प्रतिशत हिंसा घर परिवार र नजिकका आफन्तबाट हुने गरेकाले यस वर्ष ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारा तय गरिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । हिंसामा परेकाहरूको न्याय सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले महिलाहरू हिंसाविरुद्ध उजुरी गर्न समेत नजाने गरेका उनको भनाई छ ।

अभियानको अवधिमा विश्व अपाङ्गता दिवस (३० डिसेम्बर) का दिन अपाङ्गता भएका महिलाहरूको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबिच अन्तरक्रिया गर्ने, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि ‘सिड’ तथा अन्य अन्तर्राष्ट्रिय दस्ताबेजहरूको कार्यान्वयन सम्बन्धी अन्तरक्रिया गर्ने, समाजमा विद्यमान छाउपडी कुप्रथा, बालविवाह, दाइजो लगायत कुप्रथा अन्त्यका लागि कर्णाली, सुदूरपश्चिम प्रदेश तथा मधेस केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने योजना आयोगले बनाएको छ ।

अभियानको अवधिमा विभिन्न गैर सरकारी संस्थाहरूले पनि जनचेतनामूलक कार्यक्रम गर्दै छन् । यस अवधिमा योगमायाले नेपाली महिला आन्दोलनको शंखघोष गरेको भोजपुरको मझुवाबेसी तथा सङ्खुवासभाको तुम्लिङटारमा लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम हुने छ । त्यसै गरी विभिन्न ठाउँमा बालविवाह, प्रजनन स्वास्थ्य गर्भपतनको विषयमा सचेतनामूलक कार्यक्रम गर्ने तयारी छ ।

२०७५ साल मङ्सिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहमा महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने प्रकारका कार्यक्रम गर्ने आयोगको तयारी छ ।

यसैविच प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकले ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म साझा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज बिहान ७ बजे विराटनगर देवकोटा चौकबाट अभियानको सुरुवात भएको छ ।