इटहरी : नेकपा एमाले सुनसरीको जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने तय भएको छ। महाधिवेशनको ढेड महिनापछि जिल्ला अधिवेशनको मिति तय भएको हो। इनरुवा स्थित खेलमैदान (जेल फिल्ड) मा हुने अधिवेशनमा २ हजार बढी प्रतिनिधि र पर्यवेक्षकले अधिवेशन अवलोकन गर्ने एमालेले जनाएको छ ।

बिहीबार इटहरी उपमहानगर पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनबारे जानकारी गराइएको हो। अधिवेशनले आगामी कार्यकालकालागि नेतृत्व निर्माण र राजनैतिक एवं साङ्गठनिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने बताइएको छ।

गत असोज १५ देखि १७ मा सम्पन्न प्रथम विधान अधिवेशनले गरेको व्यवस्था बमोजिम जिल्ला अधिवेशनले एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने भएको छ । सोही अनुसार समावेशिताको सिद्धान्त बमोजिम दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक समेत प्रतिनिधित्व सुनिश्चित गरिने भएको हो । विधानको व्यवस्था बमोजिम १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उप-सचिव सहित १३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरिने अध्यक्ष खेमराज पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अधिवेशनमा भूगोल तथा १८ वटा क्रियाशील जनसङ्गठनहरूबाट प्रतिनिधित्व गराइने भएको छ । वडा स्तरबाटै प्रतिनिधि आउने भएकाले एकसाथ पौष १७ गते छनौट गरिने प्रचार उपसमितिका संयोजक लोकेश निरौलाले जानकारी दिए । अधिवेशन हुन बाँकी गढी, देवानगञ्ज गाउँपालिका र इनरुवा, दुहबी नगरपालिकाबाट पनि प्रतिनिधि आउने उनले बताए ।

२५ जना सङ्गठित सदस्य बराबर १ जना र प्रत्येक ३ जना प्रतिनिधिमा १ महिला अनिवार्य गरी एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको उनले जानकारी दिए। त्यसैगरी पालिकाको कुल दलित सदस्य सङ्ख्यालाई आधार मानी २० दलित सदस्य बराबर १ जनाको दरले प्रतिनिधि छनौट गरिने भएको छ। अधिवेशन सम्पन्न गर्न कुल २० लाख खर्च हुने अनुमान गरिएको छ । खर्चको व्यवस्थापन प्रतिनिधि एवं कार्यकर्ता, शुभेच्छुकहरूबाट सङ्कलन गरिने निरौलाले बताए ।

त्यस्तै विभिन्न ९ वटा उपसमिति बनाएर अधिवेशनको जिम्मेवारी तय गरिएको छ। जसमध्ये साङ्गठनिक तथा आर्थिक प्रतिवेदन तयारी उप-समितिको संयोजकमा खेमराज पोखरेल रहेका छन् भने आर्थिक व्यवस्थापन उप-समिति संयोजकमा निलम खनालले जिम्मेवारी पाएका छन् ।

मञ्च व्यवस्थापन उप-समितिको संयोजकमा शत्रुघन प्रसाद यादव छन् भने स्वयम्सेवक परिचालन उपसमितिको संयोजकमा पदम लिम्बु र सहसंयोजक अरुण गुरुङ रहेका छन् । परशुराम यादवको संयोजकत्वमा खाद्य व्यवस्थापन उपसमिति तय भएको छ । प्रतिनिधि व्यवस्थापन उप-समिति संयोजकमा नन्द बस्नेत र सहसंयोजकमा राम कोइराला रहेका छन् । अतिथि सत्कार उपसमिति संयोजकमा लिलम बस्नेत छन् भने संयोजकत्वमा सिर्जना परियार रहेकी छिन् । प्रचार प्रसार उपसमिति संयोजक लोकेश निरौला सह-संयोजक रबी खनाल र स्वास्थ्य उपसमिति संयोजकमा सुशील अर्यालले जिम्मेवारी पाएका छन् ।