धरान : धरानको शिर धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो विनाको बाँस यतिखेर सङ्कटमा परेको छ ।

बाँसले तामा हान्नुपर्नेमा तामा नहानेपछि मन्दिर व्यवस्थापन समितिले बासले तामा नहानेकोले बास मासिने चिन्ता व्यक्त गरेको छ । यहीक्रममा मेयर तिलक राईको नेतृत्वमा सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, राजनीतिक दलका प्रतिनिधि र स्थानीयबासीहरुले स्थलगत निरीक्षण गरेका छन् ।

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बाँसहरुको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि वनस्पति सम्बन्धीका विज्ञको राय अनुसार स्तरोन्नति गरिने मेयर राईले अनुगमन पछि बताए ।

मेयर राईले धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका बाँसहरुको संरक्षण गर्ने कार्यमा धरान उपमहानगरपालिका लागि पर्ने बताएका छन् । मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम खोप्ने चलन थियो ।

बाँसमा नाम खोप्दा प्रेमी प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किम्बदन्ती रहेकोले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे । तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संरक्षण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको थियो ।

अहिले बुढा सुब्बा मन्दिरमा पूजा गरी बाँसमा धागो बाँध्ने चलन छ । यसरी धागो बाँध्दा प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने मान्यताले फेरि अर्को प्रयास पाएको छ ।

पहिले पनि निकै लोकप्रिय र भक्तजनले विश्वास गरेर भाकल गर्ने बुढासुब्बा मन्दिरको चर्चा पछिल्लो समय दिनप्रतिदिन चुलिँदै गएको छ ।

चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र नभएर भारत लगायत विभिन्न देशबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् । विजयपुर क्षेत्रमा थुप्रै मठ मन्दिरहरू छन् ।

अन्य मन्दिरहरूको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेका छन् । वरिपरि टुप्पो बिनाको बाँसका झ्याङ, न कुनै देवताको मूर्ति छ, न कुनै देवीको नै प्रतिमा छ ।

सुन्दा पनि अचम्म लाग्ने । माटोको ढिस्को, धमिराले घर बनाए जस्तो देखिन्छ । देख्दा सामान्य लाग्ने यो मन्दिरले आफ्नो छुटै इतिहास र विशेषता बोकेको छ । अझ बुढासुब्बा मन्दिर परिसरमा रहेका टुप्पो विनाको बासको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बेला भएको छ ।

यसबारेमा पछिल्लो समय स्थानीय सरकारको ध्यान थोरै भए पनि केन्द्रित भएको छ । यस प्रति बासले तामा हान्न छाडेको प्रति वनस्पति विज्ञको सुझाव लिएर स्थानीय सरकारले केही न केही गर्नुपर्ने देखिन्छ । यदि यसो हुन सकेन भने बुढासुब्बा को टुप्पा नभएको बासको अस्तित्व हराउनेछ ।