झापा : झापाको दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरू बन्द गर्न निर्देशन गरेको छ ।

पछिल्लो समय कोभिड–१९को जोखिम बढेको भन्दै सङ्घीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरू वार्षिक बिदामा मिलान हुने गरी बन्द गर्ने निर्णय गरेसँगै नगरपालिकाले पनि नगर भित्रका विद्यालयलाई निर्णय कार्यान्वयन गर्न भनेको हो ।

बुधवार नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले विज्ञप्ति जारी गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भौतिक रूपमा उपस्थिति गराएर पठनपाठन गर्ने कार्य बन्द गरी शिक्षण सिकाई सहरीकरण निर्देशका २०७७ को व्यवस्था मिलाई वैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिन निर्देशन गरिएको उल्लेख छ ।

दमकका धेरै जसो विद्यालयमा अहिले परीक्षा चलिरहेका कारण विद्यार्थीसँगै अभिभावक र स्वयम विद्यालय सञ्चालक नै पनि अन्यौलमा परिरहेका थिए ।

Damak-Paripatra