धरान : वीपी प्रतिष्ठान आसपासका थप १४ वटा औषधी पसलमा आज सोमबार सिलबन्दी गरिएको छ। 
कुल २५ वटा औषधी पसलमा गरिएको अनुगमनमा कानुनी तथा प्रशासनिक कमी कमजोरी फेला परेपछि ती पसल सिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोली संयोजक जिल्ला फार्मेसी अधिकृत प्रकाश भण्डारी अनुसार सहारा मेडिकल हलमा फार्मेसीस्ट अनुपस्थित रहेको पाइएको छ। माँ रुपेनीले सक्कल प्रमाणपत्र पेश गर्न नसकेको तथा त्यहाँ पनि फार्मेसीस्ट उपस्थित नरहेको बताइएको छ । 
रुपबी मेडिकल हल र सिम्रन हेल्थ केयर फार्मेसीमा आवश्यक कागजात अपूर्ण रहेको भेटिएको छ। सलिल मेडिकलमा औषधि आवश्यक मापदण्ड अनुसारको वातावरणमा नराखिएको तथा फार्मेसीस्ट पनि अनुपस्थित रहेको पाइएको छ।
गहिल फार्मेसी, महाकाली फार्मेसी, सन लाइट फार्मेसी, बुढाथोकी फार्मेसी, माही मेडिकल हल, सुप्रीला फार्मेसी, सुनकोसी फार्मेसी तथा सुनकोसी फार्मेसीसँगै सञ्चालनमा रहेको नाम नखुलेको अर्को फार्मेसीमा आवश्यक जनशक्ति (फार्मेसीस्ट) उपस्थित नभएको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा जेबिआर मेडिकलले आवश्यक समन्वय नगरेको बताइएको छ। अनुगमन टोलीका अनुसार पछिल्लो कारबाहीसँगै बिपी प्रतिष्ठान आसपास सिलबन्दी गरिएका औषधि पसलको सङ्ख्या ३५ पुगेको छ।
सम्बन्धित औषधि पसललाई प्रचलित कानुन तथा औषधि व्यवस्थापनसम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिइएको छ। अनुगमनका क्रममा फेला परेका कमजोरीका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सम्बन्धित निकायले जनाएको छ।