इटहरी : इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट तथा ब्युटिसियन एन्ड हेयर डिजाइन विषयको अध्ययन–अध्यापन सुरु गरेपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ।

विद्यालयले शुक्रबार कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रम आयोजना गर्दै रोजगारमुखी शिक्षालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो।

विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले विद्यार्थीलाई रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले व्यावसायिक विषय सञ्चालन गरिएको बताउँदै सीप, ज्ञान र व्यवहारिक क्षमता विकासमा विद्यालय केन्द्रित रहेको बताए।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले सरकारी विद्यालयले समयअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताइन्। यस्ता कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उनको भनाइ थियो।

पूर्वाञ्चल विश्वविद्यालयका पूर्व डिन प्राडा सन्देशदास श्रेष्ठ,जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष विकास केसी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन पराजुली, पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ र ब्युटिसियन बिजुबैनी श्रेष्ठले विद्यार्थीलाई रुचि,क्षमता र सीपअनुसार करिअर निर्माण गर्न प्रेरित गरेका थिए।

सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी भई हाल विभिन्न सरकारी निकायमा कार्यरत सात जनालाई सम्मान गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ। कम्प्युटर विज्ञानतर्फ आयुष खतिवडाले ३।८१ जिपिए, व्यवस्थापन ९अंग्रेजी माध्यम० तर्फ अनुसा रिजालले ३।६५ र कम्प्युटर विज्ञानतर्फ आशिका प्रधानले ३.६० जिपिए प्राप्त गरेका थिए।विद्यालयले अनुशासन, नियमित उपस्थिति, उत्कृष्ट अध्ययन तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय योगदान पुर्‍याएका विद्यार्थीलाई पनि सम्मान गरेको छ।

यस वर्ष विज्ञान, शिक्षा, व्यवस्थापन, होटल म्यानेजमेन्ट तथा ब्युटिसियन समूहमा कक्षा ११ का ३७५ जना विद्यार्थीको १८औँ ब्याच स्वागत गरिएको छ भने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष पूरा गरेका २३ जना विद्यार्थीको आठौँ ब्याचलाई बिदाइ गरिएको विद्यालयले जनाएको छ।