धरान : धरानमा भइरहेको गोधुली फुटबल रनिङ्ग कप अन्तर्गत आज भएको खेलमा धरान-८, १५, ११ र १९ विजयी हुँदै सबै टिम क्वाटर फाइनल प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा धरान-८ ले धरान ९ लाई ३-० गोल अन्तरले पराजित गरेको छ । ८ नं. वडाका लागी आमोद माझीले २ र सविन राना मगरले १ गोल गरे । माझीले खेलको १८ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै सविन राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा गोल गर्दै माझीले व्यक्तिगत २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ८ का मदन लाबुङ घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै गरी आज भएको दोस्रो खेलमा जित हात पार्दै वडा नं. १५ क्वाटर फाइनलमा प्रवेश गरेको छ । १५ नं. वडाले १० नं. वडालाई २-० ले पराजित गरेको छ । १५ नं. वडाका लागी सुवास मगर र सुगम जिमीले गोल गरे । खेलको म्यान अफ द म्याच वडा नं. १५ का सुगम जिमी घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

आज भएको तेस्रो खेलमा वडा नं. ११ ले वडा नं. १७ लाई २-० ले पराजित गर्‍यो । ११ नं. वडाका रिवस मास्केले खेलको ८ मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २५ औँ मिनेटमा १७ नं. वडाका नगेन्द्र विकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

तर एक मिनेट बित्न नपाउँदै ११ नं. वडाका दावा शेर्पाले गोल गर्दै ११ नं. वडालाई २-१ को अग्रता दिलाए । पहिलो हाफ २-१ ले पछि परेको १७ नं. वडाले दोस्रो हाफमा दर्जनौँ आक्रमण ११ को गोलपोष्टमा गरेको थियो ।

तर गोल गर्न भने सकेन । १७ नं. को प्रहार रोक्न ११ नं. वडाका गोल किपर प्रदीप जिमी बलियो खम्बा देखिए । एकपछि अर्को आक्रमण विफल पारेको जिमी म्यान अफ द म्याच घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

आज भएको अन्तिम खेलमा जित हात पार्दै वडा नं. १९ पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ । १९ नं. वडाले २० नं. वडालाई ४-० गोल अन्तरले पराजित गरेको छ । १९ नं. वडाकालागी इन्चन राईले २ गोल गरे भने आयाम राई र विनोद राईले एक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १९ नं. वडाका विनोद रार्ई घोषित भए । उनलाई पनि नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोलिको पहिलो खेल वडा नं. १६ र ७ बिच दिउसो १ बजे र दोस्रो खेल वडा नं. ६ र १३ बिच दिउसो ३ बजे धरान रङ्गशालामा हुने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न धरान उपमहानगरपालिकाले निरन्तर संयोजन गरेको छ भने गोर्खा ब्रुअरी प्रालिले पनि निरन्तर रूपमा प्रायोजन गरिरहेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले नगद रु १ लाख ५० हजार र उपविजनताले नगद रु. ७५ हजार पुरस्कार जित्ने तथा शीर्ष आठ टिमले लिग गेम खेल्न पाउनेछन् ।