इटहरी : इटहरी फुटबल क्लबलाई पराजित गर्दै आयोजक मेमोरी युवा क्लब प्रथम सोनापुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको दुहबी-८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज बिहीबार भएको अन्तिम क्वाटर फाइनल खेलमा इटहरी फुटबल क्लब माथि पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरको जित निकाल्दै आयोजक क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । त्यसअघि खेलको ४५ औ मिनेटमा इटहरीका समीर राईले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेट नबित्दै आयोजक क्लबका मिलन राईले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।

पेनाल्टी सुट आउटमा इटहरीका समित चौधरीको प्रहारलाई आयोजक क्लबका गोल किप्पर सुजित चौधरीले रोकेका थिए भने निकेश तामाङ, मनिष भण्डारी, विजय राई र दिपेन तामाङको प्रहार गोलमा परिणत भएको थियो । आयोजक क्लबका मिलन राई, उमेश कार्की, सितोश थापा, नीरज थापामगर र दिपेश माझीले सहजै गोल गर्न सफल भए ।

आजको खेलको म्यान अफ द म्याच आयोजक क्लबका मिलन राई घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए । आजको अन्तिम क्वाटर फाइनल खेलसँगै गोल्ड कपको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।

आजको विजेता आयोजक मेमोरी युवा क्लबले पर्सी शनिवार एकता युवा क्लब बिराटचौक मोरंगसंग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि भोलि शुक्रवारको पहिलो सेमिफाइनल खेल पूर्वाञ्चल युनाइटेड फुटबल क्लब सुन्दरहरैचा र डागीहाट युवा क्लब बेलबारी मोरङबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगिता विजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।